|

धनकुटा : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अपांगमैत्री मतदाता शिक्षा नहुँदा अपांगता भएका मतदातालाई समस्या भएको गुनासो गरेका छन्।

सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए। उनले सांकेतिक भाषामा मतदाता शिक्षा सञ्चालन हुनुपर्ने बताए। उनले हरेक मतदान स्थल अपांगमैत्री भनिए पनि ह्वील चियर लिएर जाने ठाउँ नभएको बताए।

हिले क्याम्पसका सहायक प्रमुख प्रदीप फुयलले राजनीतिक दलले अपांगता भएका व्यक्तिबाट नाफा लिने तर संरचना बनाउन कन्जुस्याइँ गर्ने गरेको बताए। उनले दृष्टिविहीनले ब्रेल लिपिबाट मत हाल्न पाउने वातावरण बनाउनुपर्ने माग गरे। उनले स्थानीय तहमा अपांगमैत्री संरचना नभएको बताए।

धनकुटामा करिब ३ हजार ४ सयको हाराहारीमा अपांग रहेको अपांग सेवा संघ धनकुटाका अध्यक्ष सेतुलाल आले मगरले जानकारी दिए। उनले हरेक मतदानस्थल अपांगमैत्री भनिए पनि यसअघिका निर्वाचनमा त्यस्तो नपाएको बताए।

उनले अपांगका लागि पार्टीको घोषणापत्रमा उल्लेख गरेअनुसार सम्बोधन नगरेको र आफ्ना गुनासो राख्ने ठाउँ समेत नपाएको मगरले बताए।

अपांग सेवा संघ धनकुटाका सचिव सुमन बसेलले अपांगलाई दश वर्गमा छुट्याइएकाले फरकफरक क्षमता अनुसारका विभिन्न समस्या भएको बताए। बसेलले भने त्यसैअनुसार अपांगमैत्री शिक्षा  आवश्यक रहेको बताए। अपांगता भएकाहरूलाई मतदान गर्न निर्वाचन आयोगले सहज तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

अपांगमैत्री शिक्षा नहुँदा दिइएको मत समेत खेर जाने हुनाले कुन अवस्थाको अपांग हो त्यसैअनुसारको शिक्षा दिनुपर्ने आवश्यकता रहेकाले विशेष ध्यान दिनुपर्ने बताए। गोडामा समस्या भएकी ६५ वर्षीया शान्तिला तामाङले मत लगाउन जाँदा संरचनाको कारणले समस्या भोग्दै आएको बताइन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले सरकारी मापदण्ड अनुसार अपांगमैत्री मतदानस्थल बनाउँदै आएको दाबी गरे। उनले यसपटक पनि अपांगमैत्री मतदानस्थल रहने तर अपांगमैत्री मतदाता शिक्षा भने केन्द्रको कार्यक्रम नआएकाले त्यसो गर्न नसकिएको जानकारी दिए। 

मतदाता शिक्षाले सहज

धनकुटा नगरपालिका ६ की तेजकुमारी मगर महिला स्वयंसेविका आएर मतदान गर्न सिकाएको भन्दै खुसी भइन्।

मतदाता शिक्षाका लागि खटिएकी महिला स्वास्थ्य स्वयंसेविका माया तामाङले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएकी थिइन्।

यसअघिका चुनावमा पार्टीका मान्छेले आएर यहाँ छाप लाउनु है भनेर उनीहरूकै पार्टीको चुनाव चिह्नमा सिकाए’, मगरले भनिन्‚ ‘तपाईंलाई इच्छा लागेको चिह्नमा छाप लगाउनु, अन्य चिह्नमा छाप नछोई पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकेकी हुँ।’

यस्तै धनकुटा ६ को गोपाल श्रेष्ठले पनि मत नबिगारी कसरी मत खसाल्ने भन्ने विषयमा जानकारी पाउँदा खुसी लागेको बताए। उनले मतदाता शिक्षा विगतका निर्वाचनमा कम हुने गरेको बताउँदै यो पटक मत दिन सहज हुने बताए।

यता मतदाता शिक्षा दिन घर घर पुगेका महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन्। कुन राजनीतिक दलबाट आएको ?, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअलमल्याउनुस्, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने जस्ता प्रश्नले हैरान भएको महिला स्वास्थ्य स्वयंसेविका तामाङले बताइन्।

‘कतिपयले सुन्न नचाहने, भोट नदिने भन्ने गरेको पाइएको छ’, तामाङले भनिन्, ‘कतै राम्रो कुरा जानियो त कतै सिक्नुपर्ने रहेछ भन्नुभएको छ।’ तामाङका अनुसार राजनीतिक दल र उम्मेदवारप्रति मतदाताको गुनासो अलि बढी आएको छ।

१५ दिनका लागि मतदाता शिक्षा दिन खटिएका स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले १५ हजार रुपैयाँ भत्ता दिने गरेको धनकुटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए। ‘बिहान र बेलुकाको समयमा १५ दिनका लागि उहाँहरूलाई घरदैलोमा खटाइएको छ’, भण्डारीले भने, ‘पक्कै पनि यसपटक बदर मतको संख्या न्यून हुनेछ।’

स्थानीय निर्वाचनमा बदर मत

निर्वाचन कार्यालयका अनुसार गएका निर्वाचनमा धनकुटामा सरदर १० प्रतिशत बदर हुने गरेको छ।

गत स्थानीय तह निर्वाचनमा धनकुटामा रहेका ३ नगरपालिकामा ४० हजार ९ मत खसेकोमा प्रमुखतर्फ २ हजार ४ सय ४७ र उपप्रमुख तर्फ ५ हजार ८८१ मत बदर भएको थियो। यस्तै धनकुटामा रहेका ४ गाउँपालिकामा ४० हजार १२९ मत खसेकोमा अध्यक्षतर्फ ३ हजार १४३ र उपाध्यक्ष तर्फ ५ हजार ४९५ मत बदर भएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए। दलहरूले निर्वाचनमा गठबन्धन गर्दा पनि धेरै मत बदर भएको पाइएको उनको भनाइ छ। धनकुटामा १ लाख १६ हजार ९९१ मतदाता छन्।

किन हुन्छ मत बदर ?

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठ बताउँछन्। ‘मतदाता शिक्षा अभावले बढी मत बदर भइरहेको छ’, श्रेष्ठ भन्छन्, ‘आयोगले मतदाता शिक्षा त सञ्चालन गर्छ तर त्यो सञ्चालन गर्ने व्यक्ति समूहले राम्रोसँग काम गरिदिँदैनन्।’ आयोगले आधुनिक प्रविधि प्रयोग गर्न हिचकिचाहटका कारण धेरै मत बदर भएको श्रेष्ठको भनाइ छ।

उनका अनुसार छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसीको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन्छ। कहिलेकाहीँ मतदान अधिकृत आत्तिएर वा भुलेर मतपत्रमा हस्ताक्षर गर्न बिर्सने गर्दा पनि मतपत्र बदर हुने गरेको श्रेष्ठले बताए।

मतदाताले स्वस्तिक छाप सही रूपमा लगाउन नजान्दा नचाहँदा मत बदर हुन्छ। स्वस्तिक चिह्नको सट्टा औंठाछाप लगाएको, चुनाव चिह्नमा डटपेन प्रयोग गरेको पाइन्छ। तोकिएको घेराभित्र स्वस्तिक छाप पार्न नसक्ने, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गरेका मतपत्र भेटिन्छन्।

दलहरूबीच गठबन्धन गर्दा उम्मेदवारी फिर्ता भएकालाई पनि मतदान गर्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ।

विकल्प विद्युतीय मतदान

मत बदर कम गर्न आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने विज्ञ बताउँछन्। विद्युतीय उपकरणको प्रयोगले मात्रै मत बदर रोकिने उनीहरूको तर्क छ। पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई मत बदर रोक्न सबैभन्दा महत्त्वपूर्ण विकल्प नै विद्युतीय उपकरणको प्रयोग भएको बताउँछन्।

विद्युतीय मतदानलाई बढावा दिनुपर्नेमा आयोग भने त्यसबाट भागिरहेको छ। विद्युतीय मतदान उपकरण प्रयोगले मतदान थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.