काठमाडौं : गत वर्षको तुलनामा यस वर्ष महँगी दोब्बरले बढेको छ। यस वर्ष असोज महिनाको महँगी साढे ८ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको असोज महिनाको मूल्यवृद्धि ४ दशमलव २४ प्रतिशत रहेको थियो।
चालू आवको ३ महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ८ दशमलव ०५ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८ दशमलव ८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
फलफूलको मूल्यवृद्धि १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पिउने पदार्थको १० दशमलव २४, दुग्ध पदार्थ तथा अण्डाको ९ दशमलव ४५ र सूर्तीजन्य पदार्थको ८ दशमलव ४४ प्रतिशतले मूल्यवृद्धि भएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य वृद्धि १५ दशमलव ९१ प्रतिशत रहेको छ।
सबैभन्दा बढी महँगी (मुद्रास्फिति) यातायातको २१ दशमलव १५ प्रतिशत, स्वास्थ्यको १० दशमलव ५४, शिक्षाको ८ दशमलव ११ र घरायसी उपयोगका वस्तुहरूको ७ दशमलव ८७ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा मुद्रास्फिति तराईमा ९ दशमलव ४२ प्रतिशत, पहाडमा ८ दशमलव ८४ प्रतिशत, हिमालमा ७ दशमलव ७ प्रतिशत र काठमाडौं उपत्यकामा ६ दशमलव ९३ प्रतिशत रहेको छ।
गत वर्ष २०७८ असोजमा मूल्यवृद्धि काठमाडौंमा ३ दशमलव ४८, तराईमा ४ दशमलव ०१, पहाडमा ५ दशमलव ६८ र हिमालमा ३ दशमलव १२ प्रतिशत रहेको थियो।
गत आवको शुरुका ३ महिना १४९ अर्ब ८१ करोडले घाटामा रहेको चालू खाता यस वर्षको सोही अवधिमा ३४ अर्ब २८ करोडले घाटामा रहेको छ। यसले गर्दा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन करिब १४ महिनापछि बचतमा रहेको गभर्नर महाप्रसाद अधिकारीले बताए।
अघिल्लो वर्षको असोज महिनामा ८७ अर्ब ७१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष १२ अर्ब ४३ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्रमा सुधारोन्मुख रहेको गभर्नर अधिकारीले बताए।
‘हामीले धेरै अप्रिय खालका नीतिगत निर्णय पनि लियौं। निर्यात प्रतिबन्धका कुरा पनि गर्यौं’, उनले भने, ‘यी सबै हामीले समग्र अर्थतन्त्रलाई कसरी हुन्छ स्थायित्व दिनका लागि थिए।’
रेमिट्यान्स
गत वर्षको तुलनामा चालू आवको ३ महिनामा विप्रेपण आप्रवाह (रेमिट्यान्स) मा १७ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा २ खर्ब ८१ अर्ब ५ करोड विप्रेषण भित्रिएको छ।
अमेरिकी डलरमा आप्रवाह ७ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा १ लाख ४७ हजार ९ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा ५७ हजार ८ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९ दशमलव ७ प्रतिशतले बढेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।