|

सुर्खेत : जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा (माओवादी केन्द्र) ले जित्दै आएको छ। दुर्गम जिल्लाको पगरी गुथेको जाजरकोटमा एकले अर्कालाई आरोपभन्दा पनि विकासका एजेण्डाका विषयमा बढी चर्चा हुने गरेको छ।

दुर्गम हुनुमा नीति निर्माण तहमा बस्ने व्यक्तिले जाजरकोटलाई चासो नदिएको आरोप यहाँका सर्वसाधारणको गुनासो छ।

  तीन दर्शकअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएपछि माओवादीले नतिजा आफ्नो पोल्टामा पार्दै आएको छ। माओवादी विभाजनको असरले जाजरकोट क्षेत्र नम्वर २ गुमाउँदै आएको थियो।

माओवादी विभाजनपछि जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ।

०७४ अघि जाजरकोटमा दुईवटा निर्वाचन क्षेत्र थिए। २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसक द्वारिकाप्रसाद प्रधान र क्षेत्र नं. २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए। त्यसपछि २०५१ मध्यावधि निर्वाचन हुँदा भने दुवै क्षेत्र कांग्रेसले जित्यो। क्षेत्र नम्बर १ बाट झलकनाथ वाग्ले र क्षेत्र नं. २ बाट दीपकजंग शाह विजयी भए।

यस्तै २०५६ सालको आम निर्वाचनमा कांग्रेस नतिजाशून्य भयो। क्षेत्र नं. १ बाट राप्रपाका गोविन्दविक्रम शाह र क्षेत्र नं. २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जितेका जितेका थिए।

कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मार्‍यो। क्षेत्र नं. १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं. २ बाट भक्तबहादुर शाह विजयी भए। त्यसयताका हरेक निर्वाचनमा माओवादी भने जिल्लामा नतिजाशून्य हुनुपरेको छैन।

२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं. १  बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित भए। क्षेत्र नं. २ बाट भने कांग्रेसका राजीवविक्रम शाहले चुनाव जितेका थिए।

२०७४ मा प्रतिनिधिसभाको निर्वाचन हुँदा जाजरकोट एउटै निर्वाचन क्षेत्रमा कायम भयो। उक्त निर्वाचनमा बस्नेत र शाह आमने–सामने भए। तर एमालेको समेत साथ पाएका बस्नेतले बाजी मार्दा शाह पराजित भए। बस्नेतले ३२ हजार दुई सय ८१ मत पाउँदा शाहले २३ हजार दुई सय ८९ मत पाएका थिए।

प्रतिनिधिसभाको कार्यकाल पूरा भइसकेकाले आगामी मंसिरमा पुनः निर्वाचन हुँदै छ। यसपटकको निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। अघिल्लो पटक एमाले र माओवादी उम्मेदवार बनेर जितेका बस्नेतले  यसपटक नेपाली कांग्रेससहितको सत्ता गठबन्धनको साथमा लगातार तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।

बस्नेतसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज आचार्यलाई अघि सारेको छ। अघिल्लो पटक माओवादीसँगको गठबन्धनका कारण प्रदेशसभा सदस्यको उम्मेदवार हुन नपाएका आचार्य यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन्। जिल्लामा विकास निर्माणका कामहरुमा बस्नेतले धेरै काम गरेकाले बाँकी रहेका काम गर्नका लागि बस्नेतको जित निश्चित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।

शान्ति प्रक्रिया यता जिल्लामा गरेका सबै काममा माओवादीले जस लिँदै आएको छ। सुर्खेतको रकममा रहेको सडक डोल्पा सम्मा पुर्‍याएको, मध्य पहाडी लोक मार्गको काम अन्तिम चरणमा पुगेको, जिल्लामा ५० शश्याको अस्पताल निर्माण, नलगाड जलविद्युत् आयोजनाको काम, जाजरकोट बहु प्राविधिक शिक्षालय, कर्णालीकै पहिलो सरकारी स्वमित्वको जडीवुटी प्रशोधन केन्द्र स्थापना, जिल्लालाई तीन ठाउँबाट ठुला सडकसँग जोडिएको, कर्णालीकै सबै भन्दा बढी खाद्य डिपो स्थापना , टेलिफोन टावर र विद्युतीकरण निर्माण लगाएतका एजेण्डामा माओवादीले भोट मागिरहेको छ।

नेकपा एमालेले जिल्लामा भएका कामहरु ढिला सुस्ती भएको भन्दै छिटो निर्माण गर्न प्रतिनिधिसभादेखि प्रदेशसभा आफूले जित्नुपर्ने प्रतिवद्धतासहित जनतासँग भोट मागिरहेको छ।

२०६४ यता नेकपा एमालेको नेतृत्व नभएका कारण उसले देखाउने कुनै खास काम नभएकाले एमालेलाई समस्या हुँदै आएको छ।

को कति बलियो?

२०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो। जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाअध्यक्ष एमालेले जितेको थियो। दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाअध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाअध्यक्ष जितेको थियो।

त्यसको पाँच वर्षपछि २०७९ वैशाखमा दोस्रोपटक स्थानीय निर्वाचन हुँदा एमालेले भेरी नगरपालिकाको प्रमुख, बारेकोट गाउँपालिकाको अध्यक्ष, जुनिचाँदे गाउँपालिकाको अध्यक्ष जितेको छ। जसअनुसार २५ हजार ९ सय ८५ एमालेको पक्षमा सदर भएको देखिन्छ।

कांग्रेसले भेरी नगरपालिकाको उपप्रमुख , नलगाड नगरपालिकामा उपप्रमुख, जुनिचाँदेमा उपप्रमुख , शिवालय गाउँपालिका अध्यक्ष, छेडागाडमा प्रमुख र कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष  जितेको छ। जसको सदर भोट संख्या ३२ हजार २९ रहेको छ।

माओवादीले बारेकोटमा उपाध्यक्ष, छेडागाडमा उपप्रमुख, नलगाडमा प्रमुख जितेको छ। जसको सदर भोट ३० हजार ८३ भोट माओवादीको पक्षमा रहेको छ। सोही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारुढ गठबन्धनसँग करिब ६२ हजार १ सय १२ मत छ। एमालेको मत २५ हजार ९८५ हजार रहेको देखिन्छ। सत्तारूढ गठबन्धन ३६ हजार भोटले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा अगाडि रहेको छ।

त्यस्तै जाजरकोटमा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीसमेत प्रतिनिधिसभा सदस्याका उम्मेदवार बनेका छन्। नेकपा (माओवादी केन्द्र) बाट विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लो पटक गठबन्धन गरेका एमाले र माओवादीले एक÷एक क्षेत्र बाँडेका थिए। जसअनुसार प्रदेशसभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाए।

त्यसैगरी प्रदेश सभा (ख) मा बामगठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी भए। कांग्रेसका दिपकजंग शाहले १० हजार तीन सय ६० मत पाएका थिए। अघिल्लो चुनावमा गणेश सिंहसँग पराजित बेदराज सिंह अहिले गणेशकै साथमा चुनाव प्रचारमा रहेका छन्। अघिल्लो पटक चुनावमा गणेशलाई सघाएका एमालेका अहिलेका उम्मेदवार ( प्रदेशसभा सदस्य ) (क) का उम्मेदवार डम्वरबहादुर सिंह बिरुद्ध गणेश विरुद्धमा छन्।

यसपटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारुढ दल अर्कोतिर छन्। त्यसैले पनि प्रदेशसभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ।

निर्वाचन क्षेत्र नं. १(क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाको पाँचवटा वडा रहेका छन्। नलगाड गठबन्धनले जितेको छ भने बारेकोटमा अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीले जितेको छ।

भेरीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको जित भएको छ। कुशेमा अध्यक्ष र उपाध्यक्ष दुनै कांग्रेसकै रहेको छ। सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार रहेका छन। एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपा ( एकीकृत समाजबादी) का अध्यक्ष कमानबहादुर खड्का प्रदेश १ (क) बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। खड्को स्वतन्त्र उम्मेदवारीका कारण क्षेत्र नम्वर १ (क) को चुनाव थप रोचक बनेको छ।

यसैगरी, छेडागाड नगरपालिकासहित जुनिचाँदे, शिवालय गाउँपालिका र कुसे गाउँपालिकाका चार वटा वडा रहेको क्षेत्र नं. १ (ख)  मा  पर्दछ। प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसले राजिव विक्रम शाहलाई उम्मेदवार बनाएको छ भने एमालेले खिमबहादुर शाहीलाई अघि सारेको छ।

यिनै दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

एकीकृत समाजवादीका कृष्णबहादुर बुढाले पनि उम्मेदवारी फिर्ता लिएर राजिवविक्रम शाहलाई समर्थन गरेका छन्। १ (ख) मा जुनिचाँदे उपाध्यक्ष कांग्रेसले जितेको छ। शिवालय गाउँपालिका अध्यक्ष कांग्रेस ,उपाध्यक्ष माओवादीको पोल्टामा परेको छ। नेकपा एमालेकोले जुनिचाँदे गाउँपालिकाको अध्यक्षबाहेक ( ख) मा अरू जितेको छैन।

 प्रतिनिधिसभाका उम्मेदवार शक्तिबहादुर बस्नेत राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने व्यक्ति मध्यमा पर्दछन्। उहाँलाइ गठबन्धनले सोहीअनुसार प्रचार गर्दै आएको छ। बस्नेत स्वयमले पनि केही काम अधुरा भएकाले पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताए।

जिल्लाको परिचय फेर्नका लागि केही अधुरा काम गर्नुपर्ने छ, त्यसैले पनि मैले योपटक उम्मेदवारी दिएको बस्नेतले बताए। उत्ता एमालेका तर्फबाट उम्मेदवारी दिएका निरज आचार्यले जिल्लामा विकास निर्माण कामहरु ढिला सुस्ती भएकाले छिटो निर्माण गर्नका लागि भएको बताए।

स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले भ्रष्टाचारविरुद्ध आफ्नो उम्मेदवारी दिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.