|

काठमाडौँ : मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ।

स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने भएको हो। मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख तथा मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एकजना स्वास्थ्यकर्मी राख्ने र आवश्यक भएको खण्डमा स्वास्थ्यकर्मीको संख्या बढाउन पनि सकिने बताए।

‘हरेक मतदान स्थलमा कम्तिमा एकजना स्वास्थ्यकर्मी राख्ने निर्णय गरेका छौँ, आवश्यक परे स्वास्थ्यकर्मीको संख्या बढाउन सकिनेछ। यसको अधिकार स्थानीय स्वास्थ्य संस्थाहरूलाई नै छ’‚ डा. अधिकारीले भने।

यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने, थप अन्य स्वास्थ्य सेवा आवश्यक हुने अवस्था आए नजिकको स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्ने समेत डा. अधिकारीले बताए।

यस्तै हरेक मतदान स्थलबाट नजिक पर्ने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने समेत निर्णय भएको डा. अधिकारीले बताए।

‘हरेक मतदानस्थलबाट नजिक रहने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहनका लागि निर्देशन दिने निर्णय समेत भएको छ‚ निर्वाचनका दिन आकस्मिक बाहेक अन्य नियमित सेवा नहुने भएकाले मतदानस्थलबाट नजिक पर्ने स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ’‚ डा. अधिकारीले भने।

हरेका मतदानस्थलमा अहेव, स्वास्थ्य स्वयंसेविका सहितका स्वास्थ्यकर्मी खटिने समेत डा. अधिकारीले बताए। यस्तै कोरोना संक्रमण, भर्खरै चिसो मौसम शुरु भएको हुँदा मौसमी रुघाखोकी तथा अन्य संक्रमणको जोखिम हुने हुँदा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ साथ पालना गर्न समेत डा. अधिकारीले बताए।

‘अहिले पनि कोरोना संक्रमणको जोखिम छ, चिसो मौसम शुरु भएको छ। यो समयमा रुघाखोकी,फ्लू सहितका संक्रमणको जोखिम हुन्छ यस्तो अवस्थामा कसरी जनस्वास्थ्यको मापदण्ड पालना कडाइका साथ लागू गर्नुपर्छ। यसरी विभिन्न खालका संक्रमणको जोखिम हेरेर निर्वाचन आयोगसँग सहकार्य गरेर जनस्वास्थ्यको मापदण्ड कडाइ गर्ने हाम्रो लक्ष्य छ’‚ डा. अधिकारीले भने।

निर्वाचन आयोगका अनुसार मंसिर ४  गते हुने निर्वाचनमा देशभर १० हजार ८९२ मतदान स्थल रहेका छन्। जसमा १४१ अस्थायी मतदान केन्द्र छन्। 

स्वास्थ्य संस्थामा नियमित सेवा प्रभावित हुने

निर्वाचनको दिन स्वास्थ्यकर्मीहरू समेत मतदानमा सहभागी हुने भएकाले आकस्मिक सेवा बाहेक स्वास्थ्य संस्थाको सेवा समेत बन्द हुने डा. अधिकारीले बताए।

‘निर्वाचनका दिन यसै त सार्वजनिक बिदा छ तैपनि आकस्मिक सेवा मात्रै हुन्छ’‚ अधिकारीले भने। निर्वाचनअघिको एक दुई दिन र पछिको एक दुई दिनको सेवा कसरी मिलाउने भन्ने विषय भने सबै अस्पतालले आन्तरिक रूपमा मिलाउन सक्ने डा. अधिकारीले बताए।

नेपालकै ठूलो सरकारी अस्पताल वीर अस्पतालमा ‍पनि निर्वाचनका दिन आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले जनाए। 'दुई दिन त सार्वजनिक बिदा छ। यो समयमा पनि अत्यावश्यक आकस्मिक सेवा मात्रै हुन्छ, अन्य समयमा त अस्पतालको सेवा नियमित नै हुन्छ'‚ डा. बस्नेतले भने।

दुई दिन सरकारी बिदा हुने भएकाले यो दिन भने सेवामा आउने विरामीले आकस्मिकमार्फत सेवा पाउने डा. बस्नेतले बताए। यस्तै दुई दिन बिदा बाहेक निर्वाचनको दुई दिन र त्यसपछिको समयमा भने अस्पतालको सूचीमा राखिएको शल्यक्रिया सहितका अन्य सेवा पनि सञ्चालन हुने डा. बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.