|

काठमाडौं : यति वेला देश चुनावमय बनेको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन चर्चाको मुख्य विषय बनेको छ। अबको ५ वर्ष देशको नेतृत्व कसको हातमा जाने भन्ने कुराको निर्क्योल गर्ने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण रुपमा हेरिएको छ। 

अन्य क्षेत्र जस्तै नेपाली फिल्म क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ। चुनावकै कारण गत कात्तिक १८ गतेदेखि कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्।

केही कलाकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको रुपमा प्रत्यक्ष र समानुपातिक रुपमा आफ्नो उम्मेदवारी पेश गरेका छन् भने अन्य कलाकारहरूले पनि विभिन्न पार्टी तथा उम्मेदवारको समर्थनमा खुलेर बोल्दै आएका छन्। 

यो निर्वाचनमा मोरङ क्षेत्र ३ बाट अभिनेत्री रेखा थापाले प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दिएकी छन्। राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी रेखाको समर्थनमा करिश्मा मानन्धर, मनीषा कोइराला लगायतका कलाकारले रेखालाई भोट दिन मतदातालाई आग्रह गरेका छन्। 

गायिका कोमल वली पनि यति वेला प्रचारप्रसारमा व्यस्त छिन्। नेकपा एमालेको समानुपातिकतर्फ दाङ क्षेत्र ३ बाट उठेकी वली यसअघि पनि सांसद बनिसकेकी छन्।

प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा अर्का गायक सञ्जय श्रेष्ठ पनि चुनावी मैदानमा छन्। उनले काठमाडौं क्षेत्र ६ बाट उम्मेदवारी दिएका हुन्। 

निर्देशक तथा चलचित्र समीक्षक मनोज पण्डित पनि स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन्। काभ्रे क्षेत्र २ बाट उम्मेदवारी पेश गरेका पण्डित ‘ग्रेटर नेपाल’, ‘दासढुङ्गा’, ‘वधशाला’ जस्ता फिल्म तथा डकुमेन्ट्रीका लेखक, निर्देशक हुन्।

यीबाहेक निर्माता तथा निर्देशक रोज राणा, कलाकार शिवशंकर रिजाल, कमेडियन हिमेश पन्त, मधुसुदन पाठक लगायतका कलाकार पनि चुनावी मैदानमा उभिएका छन्। 

केही कलाकार तटस्थ देखिए पनि केहीले भने विभिन्न पार्टी तथा उम्मेदवारका समर्थनमा खुलेर बोलेका छन्। घरदैलो कार्यक्रममासमेत सहभागी भएकी अभिनेत्री करिश्मा मानन्धरले खुलेर नेकपा एमालेको समर्थन गरेकी छन्।

अभिनेता प्रदीप खड्काले कांग्रेस नेता गगन थापा, कांग्रेसबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका अर्बपति विनोद चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमका लागि पनि आफ्नो समर्थन रहेको बताएका छन्। 

अभिनेत्री मनीषा कोइरालाले खुलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन गर्दा कलाकारहरूको ठूलो समूह भने राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको छ।

जसमा निश्चल बस्नेत, वर्षा राउत, वर्षा सिवाकोटी, स्वस्तिमा खड्कालगायत रहेका छन्। यीबाहेक चलचित्र विकास बोर्ड अध्यक्ष जस्तो सरकारी पदमा रहेका अभिनेता भुवन केसीले कांग्रेसका लागि भोट माग्दा विवादमा समेत तानिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.