‘उपप्रधानमन्त्री छोडेर हेटौँडालाई राजधानी बनाएँ’

|

हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी छ। बिहीवार मध्यरातबाट निर्वाचनको मौन अवधि (स्थिर समय) समय शुरु हुँदै छ। 

बिहीवार रातिबाट प्रचारप्रसार गर्न नपाउने भएपछि उम्मेदवारहरू यति वेला निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो अन्तिम चुनावी अस्त्रको रूपमा प्रदेश राजधानीको कार्ड फालेका छन्।

हेटौंडा बागमती प्रदेशको राजधानी भएको पाँच वर्षपछि थापाले चुनाव जित्न आफ्नो मुख्य एजेण्डाको रूपमा यो विषय उठाए। चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका थापाले हेटौंडालाई बागमती प्रदेशको राजधानी आफूले बनाएको भन्दै मत तान्ने चुनावी कार्ड फालेका हुन्। कुनै पनि हालतमा चुनाव जित्ने दाउमा रहेका थापा नेकपा एमालेको सूर्य चिह्नबाट उम्मेदवार बनेका छन्।

आठौँपटक चुनावी मैदानमा होमिएका थापा ५ पटक पराजित भएका छन् भने दुईपटक निर्वाचित भएका छन्। आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव जसरी पनि जित्ने बताउँदै आएको थापाले चुनाव प्रचारको अन्तिम समयमा मतदातालाई आकर्षित गर्न हेटौंडालाई प्रदेशको राजधानी आफूले बनाएको दाबी गरे। नेपाली कांग्रेस नेतृत्वको सरकारले हेटौंडालाई बागमती प्रदेशको राजधानी तोकेको थियो।

हेटौंडालाई राजधानी बनाउन हुँदैन भन्ने पक्षमा कांग्रेस र माओवादीका मन्त्रीहरू एकमत रहेको अवस्थामा आफ्ना कारण हेटौंडालाई प्रदेश राजधानी बनाएको उनको दावी छ। तत्कालीन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउनुपर्छ भनेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएको उनले दाबी गरे।

थापाले भक्तपुर काठमाडौं उपत्यकाकै एक भाग भएकाले कुनै हालतमा राजधानी हेटौंडा लैजानुपर्छ भन्ने आफूले प्रस्ताव राखेको दाबी गरे। ‘मैले हेटौंडालाई राजधानी बनाउनुपर्छ भन्दा क्याबिनेटमा रहेका कांग्रेस र माओवादीका मन्त्रीहरूले मलाई मुखामुख गरेर त्यो कुनामा कसरी राजधानी हुन्छ भनेर ख्याउँख्याउँ गरे’, थापाले भने, ‘मैले कुनै हालतमा हेटौंडा राजधानी हुनुपर्छ भनेँ। बिहानको मन्त्रिपरिषद् बैठकमा निर्णय हुन सकेन। ६ वटाको राजधानी भइसकेको थियो।’

उनले आफूले उपप्रधानमन्त्री पद त्यागेर हेटौंडालाई प्रदेशको राजधानी बनाएको समेत अभिव्यक्ति दिए। थापाले धरान चतरा सडकखण्डसमेत आफ्नै पहलमा बनेको दाबी गरे।

मकवानपुर–१ मा थापासहित १६ जनाको उम्मेदवारी परेको छ। त्यस क्षेत्रमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, राप्रपा नेपालको अध्यक्ष थापा र राप्रपाका दीपक सिंहबीचको प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ। थापा तीन दशकदेखि जोसँग चुनाव हार्दै हार्दै आएका थिए त्यही पार्टी (एमाले)बाट उम्मेदवार बनेका छन्।

अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपाल ब्यूँताएका उनलाई उनकै सहयात्री दीपक सिंहको टक्कर छ। एकतर्फ सत्तारुढ गठबन्धन र अर्कोतर्फ आफ्नै पूर्वसहयात्री सिंहको बीचमा पिल्सिएका थापाले चुनाव जित्न गाह्रो पर्ने देखिएपछि अन्तिम अस्त्रको रूपमा प्रदेश राजधानीको विषयलाई उठाएको चर्चा छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.