|
फाइल फोटो

काठमाडौं : गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको छ।

बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन बिहीबार मन्दिर क्षेत्रमा लिंगो उठाइएको थियो। गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिएको कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिइन्। जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ। 
 
जात्राका क्रममा आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ। जात्रा सकी शुक्रबार राति मूर्ति तलेजु मन्दिरमै फर्काइने छ। यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीजसहित पूजा आराधना गर्ने परम्परा छ।

गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए। मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ।  गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिंगोपनि बिहीबार नै ठड्याइएको हो। जात्राका लागि लिंगो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ।

तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै फिर्ता गर्ने जिम्मा दिइएको छ। क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ। 

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ। 

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने संस्थानले जनाएको छ। बिहीबार पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो। जात्रा सकिएसँगै शुक्रबार बेलुकी ६ः०० बजे गुह्येश्वरीमा ठड्याइएको लिंगो ढालिनेछ। 

यो जात्रा जयप्रकाश मल्लको पालामा सुरु भएको मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.