मंसिर ४ जति जति नजिकिँदै छ ठूला पार्टिका हुक्के, बैठके, पाउ स्पर्शक, कायामालिसकहरूको हौसला उन्मादमा छ। उनीहरु खुसी छन् गदगद छन्। पार्टिको टिकट पाएकाहरू चाहे भ्रष्ट हुन्, चाहे अकिञ्चन हुन् उनीहरूको जित चौतर्फी रुपमा पदधारकका कार्यकर्ताका लागि शुभ लाभको संकेत हुन्छ।
सामान्य व्यक्तिका लागि चुनाव नितान्त अर्थहीन भइरहेको छ। चुनावमा जित्नेहरुले देश र जनताका लागि साच्चिकै उपयोगी विधिबिधान बनाउनुभन्दा मन्त्री मुख्यमन्त्री प्रधानमन्त्री बनेर कसरी बजेट माथि रजाइँ गर्ने भन्ने मात्र सोचेका हुन्छन्।
अमेरिका त्यस्तो देश हो जहाँ सिनेटर अर्थात जनप्रतिनीधि मन्त्री बन्न पाउँदैनन। भारत नेपाल बेलायत यस्ता देश हुन् जसले कानून बनाउछ उसैले कार्यन्वयन गर्न पाउँछ जसले गर्दा आफुलाई अनुकूल हुने गरी नीति बनाइन्छ र राज्य स्रोतको दोहन गरिन्छ।
अपवादमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र शुशिल कोइराला र केही मन्त्रीहरु घुस खाएका छैनन् बाँकी लगभग ’सबैको ध्यान कमाऊ र पालौँ ज्यान’ भन्नेमै छ।
यो अवस्थामा पनि पार्टीपूजकहरुले पटक्कै ख्याल गर्न सकेका छैनन किन नेपालका ८० लाख मानिस देश छोडेर विदेशमा पसिना चुहाई रहेका छन्। देशले कुनै एउटा चिज त उत्पादन गरेर बेच्न सक्नु पर्छ छैन।
यसैले गर्दा आजको मितिमा चुनाव ९० प्रतिशत नेपाली जनताका लागि बेसरोकारको विषय बनेको छ, किनकी सबैले भन्छन् “ जुन गोरू आए पनि कानै चिरेको’। किनकी भोट माग्नेहरूमा देश बिकासको ठोस एजेण्डा छैन। जतिपनि उम्मेदवारहरू मैदानमा हुनुहुन्छ कसैले पनि घोषणापत्र वा भाषणमा देश बिकासका कुरा लेखिए पनि आत्ममा ठोस गाइडलाइन र सोँच छैन। लगभग कुनै पनि उम्मेदवारलाई आफ्नै घोषणापत्रमा के लेखिएको छ थाहा छैन। केबल सपना छ आफ्नो उन्नतिको।
यहाँ प्रत्येक उम्मेदवारलाई कुर्सी प्राप्तिको होड छ। संङ्गठनको बलमा कुर्सि पाउने र ओहदा अनुसार देशको दोहन गर्ने बाहेक कसैले केही सोचेको छैन। पुरानालाई मात्र दोष लगाएको होइन नयाँ अनुहारले जिते पनि चमत्कार हुँदैन तै पनि जनता माथि समान दृष्टिकोणले हेर्छन की भन्ने आशा मात्र हो।
हाम्रो हिन्दु संस्कृति जहाँ राजा हरिश्चन्द्रको कथा सुनाइन्छ। जसले ऋषि विश्वामित्रलाई पुरै राज्य दानमा दिएका थिए। आफू नै एक लाश जलाउनेसंग बेचिएर दास बनेर १००० स्वर्ण मुद्रा कमाएर ऋषिलाई दान गरेका थिए। आफ्नै छोरा रोहितको दाहसंस्कार गर्नका लागि श्रीमती ताराको धोती च्यातेर कात्रो बनाउदै लाग्दा स्वर्गका देवता सवैले पुष्प बर्षा गरेको कथा सुनेर हुर्केका स्वअभिमानी नेपालीका माथि आज बीना कुनै दर्शन र दृष्किोण राजनीति गरिदै छ। यस्तो अवस्थामा एउटा भोट लिएर देश परिवर्तनको अस्त्र बनाउने जन अभिलाषा अर्थहीन बन्दै छ। विचरा तँपाई हाम्रो एउटा भोटले कति सारो क्रान्ति गर्ला ? भन्ने आशंका बीच नेपाली मतदाता गाँऊ गाँऊ धाउँदै छन्।
कोही मन्त्री बन्नका लागि कोही प्रधानमन्त्री बन्नका लागि कोही राजदुत बन्नका लागि र कोही बढुवा र उच्च ओहदालागि चुनावमा दिलो ज्यान दिएर लागेका छन्। दायरा अझै फराकिलो छ, ठेकेदार, डिलर, व्यापारी जसलाई कतै न कतै राजनीतिसंग आर्थिक प्रलोभनको सानो भएपनि मञ्च खुल्ला छ त्यँहा नेर चुनावको उत्साह छ परन्तु आम जनतालाई के महँगी।
जबसम्म देश सही र न्यायिक नीतिले चल्दैन तबसम्म जनताको अभिमतको भिडले पनि केही हुने रहेनछ। अघिल्लो निर्वाचन २०७४ मा एउटा गठबन्धनले झण्डै दुई तिहाई मतार्जन गरेको थियो तर पनि उपलब्धि आशातित हुन सकेन। नियति अव पनि उस्तै दोहोरिने छाँट देखिएकाले चुनावप्रति आम जन चासो निकै फिक्का छ।
आत्मरतिका लागि अहिले स्वतन्त्रहरूबाट केही हुन्छ कि भन्ने आशा पनि जुर्मुराएको देखिन्छ। ठाँऊ ठाँऊ स्वतन्त्र र अनेक गाँऊमा स्वतन्त्र पार्टिका उम्मेदावारहरूले आफ्नो झिनो उपस्थिती जनाएका छन्। त्यसैगरी स्थापित ठूला पार्टिहरूले पनि आफ्ना केही उम्मेदवार युवा उठाएर केही आधुनिकताको संकेत दिन खोजी रहेका छन्। बिडम्वना कसैसंग पनि यो देशका देशबासीको मुहार फेर्न सक्ने औकातयुक्त आवाज छैन। फेसबुकमा, समाजिक सञ्जालमा हेर्ने हो भने प्रत्येक नेतालाई गाली गरेको देखिन्छ। कसैका प्रतिबद्धतालाई जनताले पत्याएको जस्तो देखिदैन। नितान्त लाभग्राही बाहेक आम मतदाताको बिचरा मत कता जाँऊ र कता स्वस्तिक चिन्ह लगाऊ भनेर आत्तिएको छ। साच्चै विचरा एक मत !
रोजगारीको अवसर छैन, खेतीपातीको बेलामा मल छैन, डेँगुले पिडित भएको जनता प्रति कुनै जिम्मेवारी छैन। उच्च अंक ल्याउने बाहेक अन्यलाई पढाई गर्ने कुनै सहज र सस्तो शैक्षिक उपाय छैन। निजी कलेजमा पढ्न सक्ने जनताको हैसियत छैन। यो अवस्था आजका नेताले मात्र ल्याए भन्ने दोषारोपण पनि गरिएको होइन तर यिनीहरुले चाहेको भए धेरै सुधार हुन सक्थ्यो। जनताको हितका लागि सोँच काफी हुन्छ जसले लामो समयसम्म सकारात्मक परिवर्तन दिन सकोस्।
नेताले यो सोच्न सकेनन्की जतिबर्ष प्रधानमन्त्री भएपनि ओली, प्रचण्ड र देउवाहरु एक दिन मरेर जान्छन् तर शंखधरशाख्वा र डा. केसीहरु कहिल्यै मर्दैनन् किनकी उनीहरु जनताका लागि निशुल्क काम गरेका छन्। सरकारको भत्ता, हेलिकप्टर र उपचार शुल्क लिएर त जो कोही पनि पदमा पुग्न सक्छ उस्तै परे नेता कहलिन पनि सक्छ।
पटक पटक चुनावमा जनताको मतबाट जित्ने र जनतालाई केही नगर्नेहरूलाई मत हाल्न किन आतुर हुने गहन प्रश्न छ। विद्रोहको आगो स्वार्थसन्निकटहरूमा बाहेक सबैतिर छ तर बिकल्प भेटिएको छैन फलस्वरुप विजेताहरूले आफ्ना कुकर्म, कर्महीनता, अनुभवहीनता, स्वार्थपरकतालाई जनताले स्वागत गरेको ठानेर गद्गदाई रहेका छन्।
यो प्रजातन्त्र के प्रजातन्त्र जँहा जति प्रतिशत मत झरे पनि जित्नेवाला निर्वाचित हुने। मताधिकार भएका लाखौ जनता या त देश बाहिर छन् या त देश भित्र भएपनि भाडा र खानाको खर्च जुटाउन नसकेर नामावली भएको मतदान केन्द्रमा पुग्न सकेका छैनन्। पुगेर पनि के नै गर्न सक्थे र थाकेको एउटा मतले। घर बनाउँदा एउटै इँटाको पनि घर उभ्याउन केही न केही भूमिका हुन्छ तर नेपाली मतदाताको देश निर्माणमा त्यति पनि भूमिका महसुस गराइएको हुँदैन तैपनि भोटलाई अधिकार संझेर जनताले आफ्नो दायित्व निर्वाहन गरी रहेका छन्। त्यो सदासयता माथि सधै खेलबाड भएको छ।
फूल जस्तो बन्न सक्ने नेपाली जनताको जीवनलाई काँडा जस्तो बनाइदिने अनि त्यही काँडालाई पनि डरधम्कि दिएर घोच्न पाउदैनस भन्ने तरिकाले चुनाव गराइन्छ। यस परिवेशमा गुनासो यत्तिमात्र हो की अब बन्ने सरकारले अनेक प्रकारका भ्रष्टाचार नगरोस देशलाई अनेक काण्डमा नफसाओस, अत्यधिक रुपमा बढी रहेको चामल र तेलको मूल्यलाई नियन्त्रण गरोस।
अहिले हाइफाई युक्त बहुराष्ट्रिय देश बनाउनभन्दा सबै नेपालीको चुल्होमा २ छाकको खाना सजिलै पाक्ने अवस्था सृजना होस। पढ्ने उमेरका विद्यार्थिलाई उचित खर्चमा पढ्ने अवस्था मिलोस। निशुल्क बाँडिने औषधिमा कमिशन नखाएर गुणस्तरीयता कायम होस। समानुपातिक समावेशीको अहिलेको परिपाटि परिवर्तन गरी एक परिवार एक सरकारी रोजगारीको अवस्था सृजना होस। तबमात्र जसले चुनाव जितेपनि प्रसन्न हुनेछन्।
नेपाली जनतालाई अन्याय गरेका, अनावश्यक रुपमा जागिर खाइदिने, पटक पटक विज्ञापन गराएर एउटाको अधिकार खोसी अर्कालाई दिने, आफ्नो विवेक प्रयोग गर्न नसक्ने, केही नेता हारेर नयाँ आऊन् भन्ने आशा शुभकामना छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।