|

हेटौंडा : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग एक दशकपछि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।

३ महिनासम्म उत्पादन ठप्प पारेको उद्योग करिब एक दशकपछि दैनिक ७ सय ५० मेट्रिक टनको पूर्ण उत्पादन क्षमतामा सञ्चालनमा आएको हो। यसअघि आर्थिक अभाव झेलिरहेको उद्योगको ३ महिनासम्म उत्पादन ठप्प थियो।

३ महिनापछि कात्तिक १५ गतेबाट उत्पादन शुरु गरेको उद्योग हाल पूर्ण क्षमतामा सञ्चालन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए। ‘करिब दुई सातादेखी हामीले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएका छौं। एक दशकभन्दा बढी समयदेखि उद्योग यसरी पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन’, पाण्डेले भने।

उनले उद्योगको महाप्रबन्धकमा आफू आएपछि उद्योगको इन्टरनल टेक्निकल अडिट गर्दा उद्योगको समस्या पत्ता लागेको बताए। अडिटपछि आएको रिपोर्टलाई कार्यान्वयन गर्दै जाँदा उद्योगलाई दशकपछि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकेको उनले बताए।

‘ढुंगा पिस्ने मेसिन १४ वर्षदेखि फेरेको रहेनछ। अरु मेसिनहरू पनि सफासमेत गरेको रहेनछ। हामीले त्यो फेर्ने तथा सफा गर्ने काम गरेर अहिले पूर्ण क्षमतामा सञ्चालनमा ल्याएका छौं तर यसलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न ठूलो लगानी गर्नुपर्ने हुन्छ’, उनले भने।

पाण्डेले आन्तरिक स्रोतबाट ३० प्रतिशत रकम तिरेर बाँकी उधारोमा मेसिन मर्मत गरेर तत्कालको लागि उद्योग सञ्चालनमा ल्याएको उनले बताए।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण शुरु गरिने उनको भनाइ छ। हाल सिमेन्ट प्याकिङ गर्नसमेत शुरु भइसकेको छ। कोइलाको अभावको कारण ३ महिनादेखि बन्द रहेको उद्योग २ हप्ताअघि सञ्चालनमा आएको हो।

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ। भारत, भूटान र इण्डोनोसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन शुरु भएको हो।

‘हाल उद्योगसँग करिब एक हप्तालाई मात्रै पुग्ने कोइला छ। हामीलाई कोइला बिक्रेताहरूले फेरि पठाउँछु भन्नु भएको छ। फेरि कोइला आएर उद्योग निरन्तर पूर्ण क्षमतामा सञ्चालन हुन्छ भन्ने विश्वास छ’, महाप्रबन्धक पाण्डेले भने।

४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनमा कोइला अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो। तर विभिन्न निकायबाट कोइला सहयोग पाएपछि कात्तिक १५ गते मंगलबार उद्योगले पुनः उत्पादन थालेको थियो।

४० वर्ष पुराना मेसिनका कारण उत्पादन लागत महँगो पर्दा उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन। करिब ९ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको उद्योगले ७ सय ३७ रूपैयाँ प्रति बोरा सिमेन्ट बिक्री गर्दै आएको छ।

कच्चा पदार्थको अभाव र ढुंगा‚ धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन रोकिने गरेको छ। उद्योग चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उद्योगका महाप्रबन्धक पाण्डे बताउँछन्। उनका अनुसार सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ।

मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्थामा रहेकोले तत्काल उद्योग पूर्ण रुपमा सञ्चालनमा आएको भए पनि उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या नहट्ने महाप्रबन्धक पाण्डेको भनाई छ।

तर उद्योगमा पुरानो भएर बिग्रिएका मेसिन मर्मत गर्न र नयाँ प्रविधि भित्र्याउन आवश्यक रकम उद्योगसँग छैन। कुनै समय नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग ४ वर्षयता अस्तित्व जोगाउनकै लागि सञ्चालन हुनसमेत संघर्षरत रहेको छ।

उद्योगले ४ वर्षमा करिब ८० करोड रूपैयाँ घाटा बेहोरेको छ। उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ।

गत आव ०७८/७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड रूपैयाँ बराबर घाटा बेहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। गत आवमा १ अर्ब २२ करोड आम्दानी गरेको उद्योगले १ अर्ब ३९ करोड खर्च गरेको छ।

उद्योगले आव ०७४/७५ मा १६ करोड ३६ लाख रूपैयाँ नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ। आव ०७५/७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६्/७७ मा २३ करोड ८२ लाख, आव ०७७/७८ मा थप १७ करोड ४ लाख नोक्सान बेहोरेको उद्योगले जनाएको छ।

निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको उनले बताए। बजारमा प्रतिस्पर्धा गर्न उद्योगले हाल प्रतिबोरा सिमेन्ट ७३७ रूपैयाँमा बिक्री गरिरहेको छ। तर १ बोरा सिमेन्ट उत्पादन गर्न करिब ९ सय रूपैयाँ लागत पर्ने पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.