|

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेपछि मंसिर १ गते (बिहीवार) मात्रै ६ जना शिक्षक तथा क्याम्पस प्रमुखहरूलाई स्पष्टीकरण सोधेको छ। आचारसंहिता विपरीत शिक्षकहरूले चुनावी प्रचारप्रसार गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले मंसिर १ गते मकवानपुरको इन्द्रसरोवर गापा–४ को पञ्चकन्या माविका शिक्षक ऋषि पुडासैनीले दलको सभा, सम्मेलन तथा जुलुस र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेपछि उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

‘तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ? यदि तपाईंले दलको प्रचारप्रसार गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही गर्नु नपर्ने कारण के छ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नू’, स्पष्टीकरण पत्रमा भनिएको छ।

आयोगले मंसिर १ गते अर्का रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटालाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ। सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकाले स्पष्टीकरण सोधिएको हो।

सोही दिन आयोगले डडेल्धुरा क्याम्पसकी अध्यापिका हेमा भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परेको भन्दै उनलाई स्पष्टीकरण सोधेको छ।

आयोगले मंसिर १ गते नै निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार प्रसार गरेको भन्दै मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदी, धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत, जनज्योति आधारभूत प्राविका शिक्षक सुनकोशी गापा-५, सिन्धुलीका भुवन आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। 

आयोगले यसरी पटक–पटक शिक्षकहरूलाई स्पष्टीकरण सोधे पनि उनीहरू भने अटेर गरेका छन्। यसले आचारसंहितामा बस्न नसक्ने शिक्षकहरूले कसरी विद्यार्थीहरूलाई अनुशासनका कुरा सिकाउलान् भन्ने प्रश्न उत्पन्न भएको छ। यसअघि पनि आयोगले पाँचभन्दा बढी शिक्षकलाई स्पष्टीकरण सोधिसकेको छ। 

यस्तो छ आचारसंहितामा व्यवस्था 

निर्वाचन आचारसंहिता, २०७९  को दफा (१०) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारणअन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ।

ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने,’व्यवस्था छ। उक्त व्यवस्था विपरीत क्रियाकलाप गरे आचारसंहिता उल्लंघन गरेको ठहर हुनेछ।

शिक्षाविद् भन्छन् : शिक्षकहरू जिम्मेवार देखिएनन्

शिक्षाविद् प्रा.डा. विनय कुसियत शिक्षकहरू पेशाप्रति जिम्मेवार नभएको बताउँछन्। सरकारको नियम तथा निर्देशन जो कोहीले पालना गर्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले चुनावी माहोल छ, पेशालाई बिर्सेर पार्टीको कार्यक्रममा गएर मत माग्ने,उम्मेदवारसँगै भोट माग्ने काम गलत हो।’

​उनका अनुसार चुनावीबारे सीमित ठाउँ र व्यक्तिहरूमा भने चुनावी विचार व्यक्त गर्न पाइन्छ। 

‘आचारसंहिता पालना गर्न निर्देशन दिइरहेका छौँ’

शिक्षकहरू आचारसंहिताको खिल्ली उडाएर दललाई भोट मागिरहँदा नेपाल शिक्षक महासंघ भने शिक्षकहरूलाई आचारसंहिता पालना गर्न निर्देशन दिइरहेको बताउँछ।

महासंघकी अध्यक्ष कमला तुलाधर भन्छिन्, ‘हामीले शिक्षकहरूलाई आचारसंहिता पालना गर्न भनिरहेका छौँ तर पार्टीका कार्यकर्ताहरूले नै नातागोता जोडेर शिक्षकहरूलाई बोलाउने र चुनावी प्रचारप्रसारमा संलग्न गराउने गर्छन्।’

उनले राजनीति नै गर्ने भए राजीनामा दिएर राजनीति गर्न भनी शिक्षकहरूलाई भनेको उनको भनाइ छ। 

आयोग भन्छ : आचारसंहिता​ नमान्नेलाई तुरुन्तै जरिवाना हुन्छ

बिहीवार केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्त ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बैठक बसेको थियो।

उक्त बैठकले निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएको र १ गते राति १२  बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४  को उपदफा (५) विपरीत निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा (७) बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता विपरीत क्रियाकलाप गर्ने जो कोहीलाई कारबाही गरिने बताए। ‘शिक्षक,कर्मचारी लगायतले निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार प्रसार गर्न पाउँदैनन्, स्थिर समयमा पनि राजनीतिक दलको छलफल, प्रचारप्रसार, कसैको पक्षमा सामाजिक सञ्जालमा भोट माग्न पाइने छैन’‚ उनले भने। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार जति नै स्पष्टीकरण सोधेर राजनीतिक दल, कार्यकर्ता, शिक्षक लगायतलाई सचेत गराउन खोजे पनि उनीहरू अटेर गर्ने गरेका छन्।

अब आयोगले स्पष्टीकरणमात्र नभएर कानुनअनुसार जरिवाना नै गराउने उनले बताए। ‘आयोगले आचारसंहिता उल्लंघन गर्ने शिक्षकहरूलाई तुरुन्तै स्पष्टीकरण र जरिवाना गराउने गरेका छौँ’‚ उनले भने।

उनका अनुसार अझै पनि आचारसंहिता विपरीतका कार्य गरेको पाइए सम्बन्धित निकायमा उजुरी हाल्न सकिनेछ। आयोगले अछामको राष्ट्रिय मावि साँफेबगरका प्रधानाध्यापक तिलक कुँवर एमालेको चुनाव प्रचार प्रसारमा लागेपछि उनलाई पाँच हजार जरिवाना गराएको छ।

जनता आधारभूत विद्यालयका शिक्षक जीवछ यादवलाई पनि आयोगले ५ हजार जरिवाना तिराएको छ। उनले दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न भएको तथा शिक्षक पदमा बहाल रहँदै सदस्य बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.