|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदै छ। प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५५० पदका लागि ११ हजार ५४३ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार १८९ पुरुष र २२५ महिला गरी कुल दुई हजार ४१२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार १८७ महिला गरी कुल दुई हजार १९९ उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रदेशसभाको प्रत्यक्षतर्फ दुई हजार ९४३ पुरुष, २८० महिला र एक अन्य गरी कुल तीन हजार २२४ तथा समानुपातिकतर्फ दुई हजार १९७ पुरुष र एक हजार ५११ महिला गरी कुल तीन हजार ७०८ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम छन्। आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ। 

काठमाडौं उपत्यकामा मात्रै ५२७ मतदानस्थलमा एक हजार २७९ मतदान केन्द्र तोकिएको छ। काठमाडौंमा ३२० मतदानस्थल र ७६७ मतदान केन्द्र, भक्तपुरमा ७६ मतदानस्थल र २२२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ। काठमाडौं १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौं २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौं ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौं  ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौं ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन्। 

काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौं  ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र,काठमाडौं ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडौं ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौं क्षेत्र नं १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन्। 

यस्तै ललितपुर क्षेत्र नं १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा १०५ मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र ११५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र १०७ मतदान केन्द्र निर्धारण गरिएको छ। 

काठमाडौंमा तीन लाख १५ हजार २५४ पुरुष, तीन लाख ३६ हजार ८६४ महिला र आठ अन्य गरी कुल छ लाख ५२ हजार १२६ मतदाता रहेका छन्।

ललितपुरमा एक लाख २२ हजार २७४ पुरुष, एक लाख २८ हजार १३५ महिला र एक अन्य गरी दुई लाख ५० हजार ४१० मतदाता छन्। भक्तपुरमा ९४ हजार ६८३ पुरुष, ९९ हजार ७५१ महिला र पाँच अन्य गरी कुल एक लाख ९४ हजार ४३९ मतदाता रहेको आयोगको तथ्याङ्क छ।

देशभर १४१ अस्थायी मतदान केन्द्र

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाउन देशभर १४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ।

आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको छ।

काठमाडौं उपत्यकामा सातवटा अस्थायी मतदान केन्द्र तोकिएको छ। काठमाडौँमा चार, ललितपुरमा दुई र भक्तपुरमा एक अस्थायी मतदान केन्द्र राखिएको आयोगले जनाएको छ। 

काठमाडौंमा जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, कारागार कार्यालय डिल्लीबजार, केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक, ललितपुरमा कारागार कार्यालय नख्खु र नमुना मच्छिन्द्र माध्यमिक विद्यालय लगनखेल तथा भक्तपुरमा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा अस्थायी केन्द्र तोकिएको छ। देशभर चार लाख ५० हजार अस्थायी मतदाता रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.