वर्षौंदेखि वारेसनामा पठाएर भोट संकलन

|

दुनै ः  हिमपातका कारण प्राकृतिक नाकाबन्दीमा परेको उपल्लो डोल्पामा कुनै पनि उम्मेदवार भोट माग्न नआएको स्थानीयले बताएका छन्।

उपल्लो डोल्पामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू भोट माग्न अहिलेसम्म नपुगेको डोल्पोबुद्ध गाउँपालिका–३ का  प्रेमा धार्के लामाले बताए।

‘यहाँका जनप्रतिनिधिलाई फोन गरेर भोट दिने वातावरण तयार गर्न उम्मेदवारहरूले आग्रह गरेको मात्र सुनिएको छ तर उम्मेदवारको अनुहार देखिएको छैन‚’ लामाले भने।

उपल्लो डोल्पामा स्थानीय तहको चुनावबाहेक अरु चुनावमा अहिलेसम्म उम्मेदवारको अनुहार नै नदेखी भोट दिँदै आएको अर्का छार्काताङसुङ गाउँपालिका–४ का आङसी बुढाले बताए।

काठमाडौँमा भएका केही मतदाता हेलिकोप्टरमा आउँदै गरेको उनले बताए। माथिल्लो भेग जिल्लाको उत्तरी क्षेत्रमा पर्छ।

जाँदैनन् कुनै राजनीतिक दलका नेता

डोल्पामा एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। हाल १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तर अहिलेसम्म उनीहरू उपल्लो डोल्पा नआएको छार्काताङ्सोङ गाउँपालिका–१ का वडाध्यक्ष धावा लामा गुरुङले बताए।

र्थ–व्यापारको मुख्य स्रोत जडिबुटी र पशुपालनमा निर्भर उपल्लो डोल्पा शैक्षिक हिसाबले कमजोर देखिन्छ। सदरमुकाम दुनैदेखि ५–७ दिन माथि पुग्न नै लाग्ने उपल्लो डोल्पामा कुनै पनि राजनीतिक दलले एकजना पनि उम्मेदवार बनाएको इतिहास छैन।

विगतदेखि हालसम्मका सबै निर्वाचनमा उपल्लो डोल्पाका हजारौँ मतदाताहरू नेतालाई कुर्सीमा पुर्‍याउने सिँढीका रूपमा मात्र प्रयोग भइरहेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय ग्याल्बो थापाको गुनासो छ।

आफूलाई थाहा भएदेखि अहिलेसम्म कुनै पनि उम्मेदवारहरू घरदैलो अभियानमा नआएको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने रिग्मोका स्थानीय निमा गुरुङले पीडा सुनाइन्।

वारेसनामा पठाएर भोट संकलन

​डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकामा गरी कूल मतदाता ४ हजार १९२ रहेका छन्। शे–फोक्सुण्डा प्रदेश निर्वाचन क्षेत्र ’ख’ मा पर्छ। डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिका ’क’ मा पर्छ।

हरेक ५ वर्षमा देशभरि निर्वाचनको उत्साह छाउँछ। तर यहाँका उम्मेदवारहरू तल्लो र मध्य डोल्पाका घरघरमा पुगेर मत माग्ने गर्छन्। आ–आफ्ना एजेण्डा प्रस्तुत गर्दै जनताका समस्या सुन्ने गर्छन्। तर उपल्लो डोल्पाका नागरिकले त्यो सौभाग्य प्राप्त गर्न सकेका छैनन्।

उपल्लो डोल्पा राजनीतिक चेतमा पनि नै पछाडि रहेका कारण वर्षौंदेखि वारेसनामा पठाएर भोट संकलन हुँदै आएको छ। 

निर्वाचन आउँछ, जान्छ। उम्मेदवार कहिल्यै पुग्दैनन्, भोट हाल्ने रैवार मात्रै पुर्‍याउँछन्- यहाँका स्थानीय गुनासो गर्छन्।

खाद्यान्न अभाव, पुल–बाटो, सञ्चारको र स्वास्थ्यसमेतका सयौं समस्या छन् उपल्लो डोल्पामा। ‘३० किलो चामलको ९ हजारभन्दा धेरै रकम तिर्नुपर्छ। बिरामी हुँदा भाग्यले बचाउने हो। स्वास्थ्य चौकीमा सिटामोलसम्म पाईँदैन। नागरिक धेरै पीडामा बाँचिरहेका छन्‚’ शे-फोक्सुण्डोकी प्रेमा गुरुङले बताइन्।

नेताका बहाना- कहिले टाढा‚ कहिले हिउँ

धेरै दिन हिँड्नुपर्ने, अत्यधिक चिसो र ज्यान जोखिममा पर्ने समस्याले उम्मेदवारहरू उपल्लो डोल्पा नजाने गरेको जानकारहरू बताउँछन्। अहिले हिउँको बहाना भयो, कहिले टाढा भयो भन्ने बहाना हुन्छ‚ नेताले उपल्लो डोल्पालाई सधैँ भोट बैंकको रुपमा मात्र लिएको गुनासो यहाँका सर्वसाधारणको छ।

यहाँ निर्वाचनका लागि कर्मचारी शुक्रबार मात्र आइपुगेका छन्। हेलिकप्टरबाट पठाइएका कर्मचारीलाई चुनाव सकिएपछि हेलिकोप्टरले नै दुनै ल्याउने व्यवस्था मिलाइएको छ।

उपल्लो डोल्पा जाँदा बाटोमा भेटिने अग्ला पहाडमा रहेको बाटो हिउँले पुरिदिएपछि जान र आउन समस्या भएको हो। हाई अल्टिच्युडका कारण आवागमन अर्को समस्या रहँदै आएको छ। अहिले खनजोतको काम शुरु भएको छ। सबै किसान खेतबारीमै भेटिने गरेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतको सीमाक्षेत्रमा पर्ने हुँदा त्यहाँको जीवनशैली तिब्बतसँग मिल्न जान्छ। भाषा, संस्कार‚ संस्कृति र रहनसहनसमेत मिल्छ। उपल्लो डोल्पामा चीनसँग जोडिएका क्याटो र मोरिम्ला नाका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.