|

गौर : मतदातालाई प्रलोभनमा पर्न खाजेको आरोपमा ८ जनालाई नगद र छाप लागेको नमुना मतपत्र सहित संयुक्त सुरक्षा गस्ती टोलीले रौतहटका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका क्षेत्र नम्वर ४ प्रदेश सभा (ख) का उम्मेदवार फुलबाबु भन्ने अबुल कलाम आजादका कार्यकर्ता रहेको बताइएको छ।

उनीहरूलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रौतहटको गढीमाई नपा-४ मा प्रहरी निरीक्षक अरविन्दकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले वीआर ३० एवी ७५२० नम्बरको कार चेकजाँच गर्दा प्रेसर कुकर, स्वस्तिक छाप लागेका ६ हजार नमुना मतपत्र सहितका सामग्री बरामद भएको जनाइएको छ

कारचालक रौतहटको गरुडा नपा-२ गेडहीगुठीका २४ वर्षीय रञ्जितकुमार यादव लगायत २३ वर्षीय नीलेश यादव, १४ वर्षीय रञ्जन यादवका साथै वृन्दावन नपा-४ का २३ वर्षीय छोरा अनिल यादव, कटहरिया नपा- ६ फत्तेपुरका ३१ वर्षीय मनिर मिया र मौलापुर नपा-६ पथराका २४ वर्षीय सत्यलाल यादव रहेको प्रहरीले जनाएको छ।

यस्तै बा १७ च ८३९८ नम्बरको कारबाट संयुक्त सुरक्षाटोलीले दुईजनालाई नियन्त्रणमा लिनुका साथै केही नगद र नमुना मतपत्र बरामद गरेको छ। गढीमाई-४ बाट संयुक्त सुरक्षा टोलीले कार चालक गरुडा नपा-८ जिंगडियाका २३ वर्षीय खुरसेद शेख र गढीमाई-३ गम्हरियाका ५१ वर्षीय शेष मुन्नालाई दुई लाख १४ हजार २ सय नगदका साथै जसपा र एमालेको स्वस्तिक चिह्न नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

शुक्रवार मध्य रातमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ८ जना व्यक्ति, कार तथा नगद र नमुना मतपत्रसहित अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.