|

काठमाडौं : देशभर यतिखेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान भइरहेको छ। मतदाताहरू अबकाे पाँच वर्षकाे लागि आफूलाई मन परेका उम्मेदवारलाई छान्न मत दिइरहेका छन्। 

काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रमा पुग्दा शान्तिपूर्ण मतदान भइरहेको पाइयो। मतदाताहरूमा हर्सा उल्लास छ। वृद्धवृद्धाहरू अबको पाँच वर्ष सक्षम व्यक्तिले देश हाक्नुपर्ने बताउँछन्।

भोट दिइसकेपछि ललितपुरमा चिनीमाया तन्डुकार(६७) भेटिइन्। उनले ललितपुर क्षेत्र नम्बर ३ को ललितपुर महानगरपालिका वडा-१ मा भएको मतदान केन्द्रमा भोट दिएकी थिइन्। उनले भनिन्,‘सबै जनताहरूलाई हेने,राम्रो विकास गर्ने व्यक्ति अब आउन्,मेरो शुभकामना छ।’

चौथौ पटक सम्म भोट दिएकी उनले आज मत दिन पाउँदा खुसी व्यक्त गरिन्। वृद्धवृद्धा उमेरमा पुगेपछि अनेकौ समस्या आउने गरेको भन्दै ती वृद्धवृद्धाहरूको समस्या उजागर गरिदिने नेता अब चाहिने उनले बताइन्। ‘हामी जस्तालाई हेर्ने नेता पनि आवश्यक छ,’उनले भनिन्।

उनका अनुसार यसअघि चुनिएका नेताहरूले खास विकास गर्न सकेनन्। सोही मतदान केन्द्रमा भेटिएका अर्का बृद्ध मतदाता योगप्रसाद उपाध्यायले पनि सक्षम नेता चुनिन आवश्यक रहेको बताए।

पूर्व गृहमन्त्रीसमेत रहेका उपाध्यायले देशलाई विकास गर्नसक्ने उम्मेदवार जनताले छान्नुपर्ने उनको भनाइ छ। स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनी गृह र सञ्चारमन्त्री थिए।  

‘आज मतदान भइरहेको छ, यो खुसीको कुरा हो,देशलाई हाँक्न सक्ने,भ्रष्टाचार नगर्ने व्यक्ति चुनिनुपर्छ,’उनले भने। आइतबार बिहान ७ बजे मतदान सुरु भएको छ। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ।

यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। 

प्रदेश सभातर्फ सात प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.