|

काठमाडौं : आइतबारदेखि फुटबल विश्वकपको शुरुवात हुँदैछ। पहिलो खेलमा आयोजक टोली कतार र इक्वेडर भिड्दैछन्।

कतार पहिलो पटक विश्वकप खेलिरहेको छ भने इक्वेडरको यो चौथो विश्वकप हो। 

कुनै समय १ सय १३ औँ स्थानमा रहेका कतार हाल ५० औँ स्थानमा छ। कतार फुटबल टोलीमा स्पेनिश कोच फेलिक्स सान्चेजको प्रवेशलाई महत्वपूर्ण मानिन्छ।

सन् २०१७ मा सान्चेज कतारको राष्ट्रिय टोलीको कोच बनेर आएपछि कतार फुटबलले पछाडि फर्केर हेरेको छैन। उनकै प्रशिक्षणमा कतारले सन् २०१९ एशियन कपको फाइनलमा ४ पटकको विजेता जापानलाई ३-१ ले हराउँदै पहिलो पटक उपाधि जितेको थियो। 

पछिल्लो ५ खेलमा कतारको नतिजा २ जित, २ बराबरी र १ हार रहेको छ। अल्बानिया र घानालाई हराउँदा चिली र जमैकासँग बराबरी खेलेको कतार क्यानडासँग भने पराजित भएको थियो।

अर्कोतिर चौथो पटक विश्वकप खेल्न लागेको इक्वेडरले विश्वकपमा अहिलेसम्म विशेष केही गर्न भने सकेको छैन। इक्वेडरका लागि सबैभन्दा सफल विश्वकप सन् २००६ को हो‚ जतिवेला इक्वेडर अन्तिम १६ सम्म पुग्न सफल भएको थियो।

योबाहेक सन् २००२ र सन् २०१४ को विश्वकप खेलेको टोली समूह चरणबाटै बाहिरिएको थियो। 

पछिल्ला ५ खेलको नतिजा खासै सन्तोषजनक नरहे पनि इक्वेडरको यो विश्वकप यात्रा भने निकै रोमान्चक थियो। जहाँ उरुग्वे, कोलम्बिया, चिली जस्ता देशलाई हराएको टोलीले अर्जेन्टिना, ब्राजिल जस्ता फुटबलका हेविवेट टोलीसँग बराबरी खेलेको थियो। 

कतार र इक्वेडर अहिलेसम्म ३ पटक मैत्रीपूर्ण खेलमा आमनेसामने भएका छन्। सन् १९९६ मा भएको पहिलो खेल बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा २-१ ले कतार पराजित भएको थियो। सन् २०१८ मा भएको पछिल्लो खेलमा भने ४-३ ले कतार विजयी भएको थियो।

वर्तमान फिफा वरीयताअनुसार कतार ५० औँ स्थानमा छ भने इक्वेडर ४४ औँ स्थानमा छ। आइतबार अल-खोरस्थित ६० हजार दर्शक अट्ने अल-बेत स्टेडियममा आयोजना हुने पहिलो खेल जित्दै विश्वकपको सुखद शुरुवात गर्ने दाउमा दुवै टोली रहनेछन्।

ग्रुप ए मा कतार‚ इक्वेडरबाहेक सेनेगल र नेदरल्याण्ड्स पनि रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.