|

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुन सुरु हुँदा नहुँदै दलहरुले नयाँ सरकारबारे धारणा सार्वजनिक गर्न सुरु गरेका छन्। आइतबार मतदान भएसँगै दलका शीर्ष नेताहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका हुन्। 

सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेले नयाँ बन्ने सरकार आफूहरुकै नेतृत्वमा हुने दाबी गरिरहेका छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने र एमालेको नेतृत्वमा सरकार बन्न दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर चुनावमा होमिएको एमाले आफूहरुको बहुमत आउने दाबी गर्छ। अध्यक्ष ओलीले निर्वाचनपछि राप्रपा र जसपासँग मिलेर सरकार गठन गर्ने बताएका हुन्। उनले निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर नयाँ सरकार बनाउने दाबी गरेका हुन्।

सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गर्दै पूर्व-प्रधानमनत्रीसमेत रहेका अध्यक्ष ओलीले यो निर्वाचनमा एमालेको बहुमत आउने र बहुमतको सरकार मंसिर १५ गतेभित्र बहुमतको सरकार बन्ने बताए।  उनले यो निर्वाचनमा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको सरकार बन्ने बताए।

‘निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु। मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदि भएन भने साझेदार गरेका दलहरूसँग सरकारमा सामेल हुन्छौँ,' उनले भने।

यता सत्ता गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गरे। चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबी गरेका हुन्।

उनले अहिले प्रधानमन्त्रीको टुंगो लागिनसकेको बताए। प्रधानमन्त्री पद समस्याको विषय नभएको र छलफल गरेर टुंगो उनले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ’, उनले भने।

प्रचण्डले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा गठबन्धन दलहरू बीचमा अहिले कुनै छलफल नभएकोसमेत बताए। उनले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमत सङ्ग्रहका रूपमा लिन सकिने बताए। 

‘यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,’ उनले भने, ‘भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ।’ 

प्रधानमन्त्री बन्ने दौडमा कांग्रेसका आधा दर्जन नेता

गठबन्धन बनाएर निर्वाचनमा होमिएको नेपाली कांग्रेसमा आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीको आकांक्षी छन्। 

नेताहरुले सार्वजनिक रुपमा आफूहरु प्रधानमन्त्रीका लागि योग्य रहेको बताएँदै आइरहेका छन्। उनीहरुले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबीसहित भोट मागिरहेका छन्। 

थापाले सार्वजनिक रुपमा सांसद चुनिएको भोलिपल्ट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्। आइतबार काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रहसमेत गरे।

उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए। उनले नेपाली कांग्रेस बाहेक अरू कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने जिकिर गरे। महामन्त्री थापालाई महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताहरुले समर्थन गरेका छन्।

एमाले र कांग्रेस गठबन्धनको नेतृत्वकर्ता

नेकपा एमाले र नेपाली कांग्रेसले आ–आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने बताइरहँदा दुवै दलको एकल बहुमत पुग्दैन।

त्यसकारण दुवैलाई गठबन्धनको आवश्यकता पर्दछ। अहिलेको परिस्थिति कायम रहे एमालेले राप्रपा र जसपासँग सत्ता सहकार्य गर्नेछ। तर, चुनावमा उनीहरुको कति सिट आउँछ भन्ने यकिन छैन्। यस्तै नेपाली कांग्रेसले पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनेमा आशंका छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि आफूले देशको नेतृत्व लिने सम्भावना रहेको बताइरहँदा हालको सत्ता गठबन्धन संकटमा पर्ने देखिन्छ। सत्ता गठबन्धनको सहयात्री नेकपा एकीकृत समाजवादी पार्टी अहिलेको गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि पनि यही गठबन्धनले निरन्तरता पाउने बताउने गरेका छन्। ​ किनकि कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पद छोड्ने सम्भावना छैन्। प्रचण्ड नरम भए देउवाको नेतृत्वमा यो गठबन्धनले सरकारको चाबी पाउनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.