कतै कार्यकर्ता घाइते, कतै प्रहरी

|

धनगढी : प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदानका दिन आइतबार सुदूरपश्चिमका विभिन्न जिल्लामा झडप तथा अस्वाभाविक स्थिति सृजना भयो।

प्रदेशका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परे। निर्वाचन बिथोल्न लागि परेकाहरूले राखेका ती शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेना खटिएको थियो।

मतदानका क्रममा विवाद हुँदा सुदूरपश्चिमका विभिन्न मतदान केन्द्रमा झडपको स्थिति उत्पन्न भएर केही बेर मतदान स्थगितसमेत गरिएको थियो। विशेष गरी सुदूरपश्चिमको पहाडी क्षेत्रका दार्चुला, बाजुरा, अछाम, बझाङ र डोटीमा विवाद उत्पन्न भएको थियो।

बाजुरा

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भोलाबहादुर रावलका अनुसार सबैभन्दा बढी विवाद बाजुरामा भएको छ। यहाँ विवाद मात्रै होइन, एक युवकको ज्यानै जाने घटना भएको छ।

मतदान लगभग सम्पन्न भइसकेको अवस्थामा जिल्लाको त्रिवेणी नगरपालिका-७ स्थित दम्था मतदान स्थलमा विवाद पैदा भयो। विवादमा दोहोरो झडप भएपछि सुरक्षाकर्मीले गोली नै चलाउनु पर्‍यो। सोही गोली लागेर स्थानीय अन्दाजी २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको छ।

घटनास्थलमा प्रहरीले फायर गरेको थियो। यस क्रममा त्यहाँ  खटिएका प्रहरी हवल्दार कृष्ण कुँवरसहित ३ जनालगायत अरु पनि घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन्। घाइते तीनै जनालाई आजै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

एकजना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि भएको झडपमा प्रहरीले हवाई फायर गरेको बुझिएको छ। मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षबीच झडपपछि प्रहरीले स्थिति सामान्य बनाउन गोली चलाएको जनाएको छ।

मतपेटिका नै जलाइयो

बाजुराकै एक केन्द्रमा मतदानकै क्रममा आज मतपेटिकामा आगजनी गरिएको थियो। जिल्लाको  स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो।

प्रहरीका अनुसार प्रदेशसभा समानुपातिकतर्फको क्षेत्र (क) केन्द्रमा मतदान भइरहेको बेला मतपेटिकामा आगजनी भएको हो।

पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए। आफूहरूले मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गरेको, उता मतपेटिकाबाट एकाएक धुवाँ निस्किएको यादवले बताए।

आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उनको भनाइ छ। उनका अनुसार कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ खसेको थियो। तर आगलागीबाट कति मतपत्रमा क्षति पुग्यो भन्ने पनि यकिन भएको छैन। उक्त घटनापछि केही बेर मतदान पनि रोकिएको थियो।

कार्यकर्ताको फाइट

मतदानकै क्रममा बाजुरामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। जिल्लाको बुढीनन्दा नगरपालिका-७ मा काँग्रेस र एमाले कार्यकर्ताबीच लफडा भएको हो।

झडपमा परेर ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली काँग्रेसका कार्यकर्ताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरूबीच झडप भएको थियो।

बाजुरामा विवादले घरिघरि मतदान रोकिने र चल्ने अवस्था देखिएको थियो।

विशेष गरी बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, स्वामिकार्तिक खापर गाउँपालिका–४, त्रिवेणी नगरपालिका–७, बुढीगंगा नगरपालिका–८, बुढीनन्दा–५ लगायतका मतदान केन्द्रमा विवाद भएको थियो।

डोटी

डोटीको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थलभित्र विवाद भएको थियो।

स्थिति सामान्य गर्न प्रहरीले त्यहाँ ४ राउण्ड हवाई फायर नै गरेको थियो। तर केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः शुरु भएको थियो। यसबाहेक डोटीमा शान्तिपूर्ण तरिकाले मतदान सकिएको बताइएको छ।

दार्चुला

उता, दार्चुलाको शैल्यशिखर नगरपालिका-५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा पनि हवाई फायर भएको थियो। मतदानको विषयमा विवाद हुँदा दुई पक्षीय झडपको स्थिति सृजना भएपछि प्रहरी हवाई फायर गरेको हो।

हवाई फायरपछि केही समय मतदान स्थगित भएको थियो। तर पछि भने मतदान फेरि शुरु भएको थियो। मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरूले हालेको पाएपछि भएको सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एकजना महिलाको टाउकोमा लठ्ठीले समेत लागेको थियो।

त्यसपछि स्थानीयले आक्रोशित हुँदै ढुंगामुढा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।

बझाङ

बझाङको केदास्युँ गाउँपालिका–१ बेताल माध्यमिक विद्यालय, रातापानीमा मतपेटिका नै फुटाइएको छ। स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीचको विवादमा मतपेटिका फुटाइएको हो।

फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको थियो। पछि मतदान शान्तिपूर्ण भएको थियो।

एक प्रहरी घाइते

बझाङमा झडप रोक्न खोज्दा एक प्रहरी जवान घाइते भएका छन्।

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाई फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको हो। ती घाइते हवल्दारको अहिले उपचार भइरहेको बताइएको छ।

अछाम

मतदानका क्रममा अछामका २ मतदान केन्द्रमा समस्या आएको थियो।

जिल्लास्थित मंगलसेन नगरपालिका-३ को शिव निवास आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ मा रहेको मतदान केन्द्रमा विवाद भएको हो।

त्यहाँ मतपत्र अर्कै मतपेटिकामा खसाएपछि विवाद पैदा भएको थियो। तर केही बेरमा उक्त विवाद समाधान भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.