|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुगेका छन्। परशुराम नगरपालिकाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएसँगै सबै मतमेटिका सदरमुकाम आइपुगेका हुन्।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार यहाँको सडकको दुरवस्थाका कारण मतपेटिका ढिला गरी जिल्ला सदरमुकाम ल्याइएको हो। ‘जिल्लाभरका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ,’ उनले भने, ‘११ बजे सर्वदलीय बैठक बोलाएका छौं। त्यसपछि मतगन्न थाल्छौं।’

उनका अनुसार प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेलधुरामा ५६।६४ प्रतिशत मत खसेको छ। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए। प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।

प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।

यसैगरी प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.