|

काठमाडौं :ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतले पछि पार्दै खतिवडा विजयी भएका हुन्।

खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याए। सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा यस वर्ष ५१ प्रतिशत मत खसेको थियो। कुल १ लाख १७ हजार ८ सय ९७ मतदाता थिए। 

को हुन् खतिवडा?

रामहरि खतिवडा र विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका सुनुवार चिरपरिचित प्रतिद्वन्द्वी नै हुन्। जिल्लामा दुवै जनालाई युवा नेताका रूपमा लिइन्छ। २०७० को संविधानसभा निर्वाचनमा ओखलढुंगामा दुई निर्वाचन क्षेत्र रहँदा एक बाट एमालेका सुनुवार र दुईबाट कांग्रेसका खतिवडा विजयी भएका थिए। 
अहिले एउटा मात्रै क्षेत्र तोकिएको छ।

त्यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा खतिवडाले ५ हजार २ सय ५३ मतान्तरले सुनुवारसँग पराजित भएका थिए। सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुँदा खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका थिए।

त्यसबेला जिल्लामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो। यसमध्ये  ४ हजार ७८ मत बदर भएको थियो। तर,यो निर्वाचनमा भने निरन्तर संसद् बन्ने यज्ञराजको सपनामा ‘ब्रेक’लागेको छ।

खतिवडा प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता हुन्। उनी मानेभञ्ज्याङ गाउँपालिका-५ टोक्सेलमा २०२६ साल पुस २४ गते जन्मिएका हुन्। गाउँको बालकल्याणमा उनी छुचो भएको भन्दै घरकाले मामा घर प्राप्चाको स्कुलमा लगेर कक्षा १ देखि ५ कक्षासम्म अध्ययन गरेका थिए।

कक्षा ६,७,८ भने मानेभञ्ज्याङमा आएर अध्ययन गरे। पछि फेरि रुम्जाटारको स्कुलमा ९ कक्षा अध्ययन गरे। फेरि मानेभञ्ज्याङमै फर्किएर २०४२ सालमा एसएलसी पास गरेर काठमाडौंमा उच्च शिक्षा अध्ययन गरेका थिए।

२०७८ मा भएको कांग्रेसको महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा खतिवडा पाँचौँ स्थानका साथ विजयी भएका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा खतिवडाले २१ सय ४७ मत ल्याएर विजयी बनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.