|

पर्वत : पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा एमालेका उममेदवार विजयी भएका छन्।

बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार २२६ मध्ये गिरीले २९ हजार ८७२ मत पाउँदा जोशीले २७ हजार ६०९ मत पाएका छन्। 

जीतसँगै एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले दोस्रो पटक संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पनि गिरी र जोशी नै आमनेसामने भएका थिए। गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए।

पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरूपा सुवेदी र २०७० मा माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटक संसदीय निर्वाचनमा विजयी भएका थिए। २०७४ सालको निर्वाचनमा चौथो र अहिले पाँचौँपटक संसदीय निर्वाचनमा होमिएका जोशीले दोस्रोपटक संसदीय निर्वाचन लडेका गिरीसँग फेरि पनि पराजित हुनु परेको हो।

प्रदेश सभा १ मा एमालेका उम्मेदवार भक्त बहादुर कुँवरले नेकपा (माओवादी केन्द्र) उम्मेदवार सुदीप कुँवरलाई पराजित गरेका छन्। प्रदेशसभा ‘ख’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई पराजित गरेका छन्। 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रदेश सभा १ मा नेकपा (माओवादी केन्द्र) का नेत्रनाथ अधिकारी र प्रदेश सभा २ मा एमालेका विकास लम्साल विजयी भएका थिए।

यो पटक पर्वतमा ५५ प्रतिशत मत खसेको थियो। पर्वतको कुल मतदाता सङ्ख्या एक लाख २२ हजार ६४९ मध्ये ६६ हजार २७३ मत खसेको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.