काठमाडौं : ओखलढुंगामा प्रतिनिधिसभाका नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले जितमा मात्तिने र हारमा आत्तिने विशेषता एमाले पार्टीमा नभएको बताएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडासँग पराजित भएपछि उनले सामाजिक सञ्जालबाट सदैव मतदाताहरूको उच्च मूल्यांकन गर्ने बताएका हुन्।
उनले नेकपा एमालेका विरुद्ध चौतर्फी घेराबन्दी भएको कुरा थाहा हुँदा पनि आफूहरू निर्वाचनको मैदानमा उत्रेका बताए।
उनले मतदाता,कार्यकर्ता सबैलाई धन्यवाद दिँदै भने,‘जितमा मात्तिने अनि हारमा आत्तिने विशेषता एमाले पार्टीको नभएकोले तपाईंहरूको अमूल्य मतको उच्च सम्मान गर्दै देश,जनता र जिल्लाको विकासका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछु।’
ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार खतिवडा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनुवारलाई ६ हजार ८ सय १८ मतले पछि पार्दै खतिवडा विजयी भएका हुन्। खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।