|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्।  तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। 

आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए। 

रामचन्द्र पौडेलले २०७४ सालको निर्वाचनबाहेक ०४८ साल यताका सबै निर्वाचन जितेका छन्। उनले २०४६ सालमा प्रजातन्त्रको पुन:स्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भए।पहिलोपटक निर्वाचन जितेका पौडेल ०४९ मा स्थानीय विकास तथा कृषि मन्त्री भए।

पौडेल तनहुँ २ बाट ०५१ सालमा दोस्रोपटक सांसदमा निर्वाचित भए। सांसद भएर संसद् छिरेका पौडेल ०५१ मा सभामुख भए। उनी ०५६ सालमा तनहुँ २ बाट तेस्रोपटक सांसदमा निर्वाचित भए। सभामुख भएर सांसदमा निर्वाचित भएका पौडेल ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बने। साथै उनी पार्टीमा ०६२ सालमा महामन्त्रीसमेत भए। माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए। 

०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा निर्वाचनमा तनहुँ–२ बाट चौथोपटक निर्वाचित भए। ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। ०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए। पौडेल ०७४ सालको निर्वाचनमा भने पराजित भए। उनी तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए। 

१८औंपटक प्रधानमन्त्री बन्ने प्रयास

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्ने बताउँदै आइरहेका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै आफू प्रधानमन्त्रीका लागि योग्य रहेको बताउँदै आइरहेका छन्। यसअघि १७ पटक प्रधानमन्त्रीमा लडेका पौडेल १८औँ पटक प्रधानमन्त्रीको दौडमा छन्। पौडेलले देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि आफू राजनीतिमा लागेको र त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी रहेको बताएका छन्। 

‘त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ। देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ,’ पौडेलले भनेका छन्, ‘त्यो मसँग छ। म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन। नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ।’ 

नेपाली कांग्रेसबाट पौडेलसहित प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, नेता प्रकाशमान सिंहलगायतका नेताहरूले दाबी गर्दै आइरहेका छन्। प्रधानमन्त्रीका लागि दाबी गर्दै आइरहेका युवा नेता थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताहरूबाट साथ पाएका छन्। यसकारण पौडेललाई सहज देखिँदैन। 

०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए। तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो। 

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे। यो चुनावी ​शृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो। अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो।

 त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पौडेल बिपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका हुन्। ७८ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो। पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १४ वर्ष जेल परेका छन्। प्रतिगमनविरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परेका थिए।

प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन्। 

अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रालगायत आधा दर्जन कृतिहरू प्रकाशित छन्। उनी चार छोरी र एक छोराका पिता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.