|

काठमाडौं : ४० घण्टादेखि मतगणना रोकिएको इलाम–१ मा घटनाले नयाँ मोड लिएको छ। मतपेटिकाको सिलमा छेडखानी गरिएको र सिलसमेत रुजु नगराई गणना गरिएको भन्दै विवादपछि मंगलबारबाट मतगणना स्थगित भएको थियो। तर, आज आएर गणना भइसकेको ४३७ वटा मतपत्र हराए भन्दै नयाँ विवाद सुरु भएपछि गणना अनिश्चित बनेको छ।

निर्वाचन आयोगले यस बारेमा २ बजेसम्म आफ्नो धारणा दिने बताए पनि हालसम्म केही निर्णय आउन सकेको छैन। मतगणनाको क्रममा हराएका ती मतबारे टुंगो नलागेसम्म मतगणना नहुने भएको छ। आजै २ बजे सर्वदलीय बैठक बसेर थप निर्णय लिने पनि बताइएको थियो। तर, सर्वदलीय बैठकका लागि सत्ता गठबन्धनका नेताहरुलाई एमाले कार्यकर्ताहरुले प्रवेश गर्नबाट रोक लगाएका छन्।

एमालेका नेता एवम कार्यकर्ताहरु मतगणना जारी हुनुपर्ने माग राखे पनि सत्ता गठबन्धनले हराएका मतपत्रको बारेका आधिकारिक धारण नआउन्जेल गणनामा सहभागी नहुने बताएका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक धारणा सार्वजनिक भएको छैन।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। सार्वजनिक भएको नतिजाअनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.