|

हेटौंडा : बिहीवार बिहान करिब ११ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को अग्रता निरन्तर थियो।

सोमवार मतगणना शुरु भएदेखि नै अग्रता लिएकी डिना एकपटक पनि दोस्रो वा तेस्रो स्थानमा पुग्नु परेन। डिना पहिलो स्थानमा रहिरहँदा एमालेका उम्मेदवार कमल थापा दोस्रो र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह तेस्रो स्थानमा रहे।

पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिना ४ दिनसम्म लगातार अग्रस्थानमा रहिरहँदा उनलाई विजयी भएको भन्दै बधाई समेत आउन थाले तर अन्तिम समयमा आएर अवस्था उल्टियो।

बिहीवार बिहान करिब ११ बजेदेखि दिउँसो २ बजेसम्म ४ दिनको मतपरिणाम उल्टाउँदै राप्रपाका सिंह विजयी भए। सिंहले ४ दिनदेखिको बाजी ३ घण्टामै उल्टाइदिए। लगातार तेस्रो रहेका सिंह अकस्मात् आक्रामक रूपमा अघि बढ्दै चुनाव जिते।

करिब ७–८ हजार सांगठनिक भोट रहेको राप्रपाबाट उठेका सिंहले ३० हजार मत भएको एमाले र ४० हजारको हाराहारी मत भएको गठबन्धनलाई पराजित गर्न कसरी सफल भए ? यति वेला चासोको विषय बनेको छ। 

गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा हेटौंडाको मेयरमा पराजित सिंह निरन्तर निर्वाचनमा होमिएको २५ वर्षपछि पहिलोपटक निर्वाचित भएका हुन्। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भए पनि अप्रत्याशित रूपमा लोकप्रिय मत पाएर हौसिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएका सिंह पाँचौंपटकमा जनप्रतिनिधि निर्वाचित हुन सफल भएका हुन्।

सिंहले यसअघि कुनै पनि आमनिर्वाचन जितेका थिएनन्। २०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयरमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित सिंह २०५६ मा मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भए। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पनि उनी पराजित भएका थिए।

निरन्तर निर्वाचन हार्दै आएका सिंहले योपटक आफू मात्रै चुनाव जितेनन्, मकवानपुरमा २८ वर्षपछि राप्रपालाई जिताउन समेत सफल भएका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपाका तत्कालीन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गरेपछि मकवानपुरमा राप्रपाको प्रभाव घट्दै गएको थियो। कुनै समय राप्रपा र राप्रपाका अध्यक्ष कमल थापा मकवानपुरको पर्याय हुने गर्थे तर पछिल्लो समय मकवानपुर राप्रपा १० हजारभन्दा माथि उठ्न सकेन।

यस्तो अवस्थामा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सिंहले अप्रत्याशित रूपमा हेटौंडाको मेयरमा मत पाए। चुनाव नजिते पनि सत्ता गठबन्धन र कम्युनिष्टको किल्लामा पनि उनी एक्लैले २० हजार मत पाए। जसले गर्दा हौसिदै उनले यो निर्वाचनमा पनि उम्मेदवारी दिए।

उसो त स्थानीय तहको निर्वाचन हारेलगत्तै सिंहले प्रतिनिधिसभाको चुनावको तयारी गर्दै थिए। चुनाव हारेदेखि उनी नथाकी जनतामाझ पुगिरहे। स्थानीय निर्वाचनमा उनले हेटौंडा बजार क्षेत्रबाट लोकप्रिय मत पाए पनि ग्रामीण क्षेत्रमा पछि परेका थिए।

यो निर्वाचनमा उनले हेटौंडा उपमहानगरको ग्रामीण क्षेत्रमा पर्ने र स्थानीय तहमा कम मत प्राप्त गरेको हेटौंडा–१२, १३, १४ र १५ नम्बर वडामा आफ्नो पक्षमा मत तान्न हरसम्भव प्रयास गरे। हेटौंडाका मेयरमा अन्य स्थानबाट राम्रो मत पाए पनि यी वडाबाट सोचेअनुसार मत नपाउँदा सिंह हार्न पुगेका थिए।

उनका प्रतिस्पर्धी गठबन्धनकी उम्मेदवार मीना लामा जनजाति भएकाले उनले जनजाति बाहुल्य वडाहरूबाट भरपूर मत तानेकी थिइन्। त्यसैले यो चुनाव दीपक सिंहले पनि ती वडाबाट मत तान्न सोहीअनुसारको कसरत गरे। उनले जनजातिलाई आकर्षित गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक आमसभामा सम्बोधन गर्न लगाएका थिए।

फलस्वरूप ती वडाबाट उनले करिब ५० प्रतिशतभन्दा बढी मत पाए। हेटौंडाको मुख्य बजार क्षेत्रबाट पनि उनले व्यापक जनसमर्थन प्राप्त गरेका छन्। विशेषगरी सिंहले हेटौंडाको १२,४ र ५ नम्बर वडाबाट निर्णायक मत प्राप्त गर्न सके।

देशैभरि राप्रपाप्रति बढ्दो चासो, सत्तारुढ गठबन्धनभित्र रहेको व्यापक असन्तुष्टि, नेपाली कांग्रेसभित्र बढ्दो गुटगत राजनीतिको प्रभाव र एमालेको आफ्नो उम्मेदवार नभएको अवस्थामा सिंहलाई जित्न सहज भयो। कांग्रेस र कम्युनिष्टबीचको द्वन्द्वले गर्दा सिंह राजावादीको जितको झण्डा फहराउन सफल भए। लामो समय एउटै पार्टीमा सँगै काम गरेका सहयात्री कमल थापाको उम्मेदवारीले गर्दा उनले एमालेको मत सहजै तान्न सके।

उता कांग्रेसको आन्तरिक द्वन्द्वको फाइदा पनि उनले भरपूर उठाए। सिंहले बिहीवार निर्वाचन जित्नै लाग्दा उनका समर्थक र कार्यकर्ताहरू बाजागाजासहित राप्रपाको झण्डा फहराउँदै नाराबाजी गरिरहेका थिए। राप्रपाको विजयको त्यो भीडमा एमालेका कार्यकर्ताहरू झण्डा लिएर पुगेका थिए। एमालेका उम्मेदवार कमल थापालाई हराएका सिंहको जितको खुशियाली उनीहरू नाच्न समेत भ्याए।

सत्तारुढ गठबन्धन र राप्रपा नेपालसँग एमालेको तालमेललाई पन्छाउँदै मकवानपुरबाट २८ वर्षपछि राप्रपाका नेता दीपकबहादुर सिंहले प्रतिनिधिसभाको यात्रा तय गरेका छन्। सिंह नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र आफ्ना राजनीतिक गुरु कमल थापालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले कांग्रेस सहमहामन्त्री डिनालाई २ हजार ३८२ मतान्तरले हराए। सिंहले २७ हजार ८१६ मत पाउँदा डिनाले २५ हजार ४३४ मत ल्याइन्। एमालेको चुनाव चिह्नबाट उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले २५ हजार ४२० मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.