|

हेटौंडा : ‘समानुपातिकको पहिलो नम्बरमा रहेको नाम काटेर म जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन आएकी छु’, कात्तिक २३ गते मकवानपुर–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले भनेकी थिइन्।

निर्वाचनमा प्रत्यक्ष अनुमोदित हुने सपना बुनेर निर्वाचनमा होमिएकी उनी चौथोपटक पराजित भएकी छिन्। मकवानपुरमा महिलाहरुलाई प्रौढ शिक्षा सिकाउनेदेखि महिला सशक्तीकरणको अभियानलाई सञ्चालन गरेकी डिनाले मकवानपुरका जनताबाट एकपटक पनि अनुमोदित हुने मौका पाउन सकिनन्।

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएका ४ महिलामध्ये ‘डिना’ एक थिइन्। विद्यार्थी राजनीति गर्दै कांग्रेसको पहिलो महिला सहमहामन्त्री बनेकी उनी योपटक निर्वाचित हुनेमा ढुक्क थिइन् तर अन्तिम समयमा राप्रपाका दीपकबहादुर सिंहले आक्रामक रूपमा अघि बढ्दा जनताबाट प्रत्यक्ष अनुमोदित ‘डिना’को हुने सपना अधुरै रह्यो।

नेपालमा महिलाहरु खुलेर राजनीतिमा समेत आउन नसकिरहेको अवस्थामा २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार बनेकी उनी नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्।

२०५१ सालको मध्यावधि निर्वाचनमा पनि डिनाले फेरि खतिवडासँगै हार व्यहोरिन्। २०५६ मा भएको आमनिर्वाचनमा उनले उम्मेदवारी दिइनन्। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डिना पुनः उम्मेदवार बनिन्।

यति खेर पनि डिनाका लागि खतिवडा नै तगारो बने। परम्परागत प्रतिस्पर्धी खतिवडा (हाल नेकपा एकीकृत समाजवादी) र डिना यो निर्वाचनमा निर्वाचन क्षेत्र बाँडेर लडे पनि खतिवडा र ‘डिना’ दुवै पराजित हुन पुगे।

डिना राप्रपाका सिंहसँग २ हजार ३८२ मतान्तरमा पराजय भइन्। मतगणनाको शुरुवातदेखि अन्तिम दिनको ३ घण्टाअघिसम्म निरन्तर अग्रता लिएकी उनी अन्ततः पराजय व्यहोर्न पुगिन्। बागमती गाउँपालिकाको मतपेटिका खोलेर शुरु गरिएको मतगणनामा डिनाले निरन्तर अग्रता लिएकी थिइन्। बकैया गाउँपालिकाको मतगणनामा पनि डिनाले आशा लाग्दो अग्रता लिएकी हुन् तर हेटौँडा उपमहानगरपालिको मतगणना हुँदा राप्रपाका सिंहले निरन्तर मतान्तर घटाउँदै लगे।

सिंहलाई हेटौँडाको मतले विजयी गराएको थियो। पार्टी राजनीतिमा सफल देखिएकी डिनालाई जनताबाट प्रत्यक्ष चुनिने अवसर भने गुमेको छ। डिना २०६४ को संविधानसभा निर्वाचनमा सामानुपातिक कोटाबाट संसद् प्रवेश गरेकी थिइन्।

समानुपातिक सांसद भएकै वेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी जलस्रोत राज्यमन्त्री समेत भइन्। २०७२ सालको संविधानमा महिलाहरूको हक अधिकार स्थापित गर्न महिला सांसदहरूले चलाएको अभियानमार्फत महत्त्वपूर्ण भूमिका खेलेकी ‘डिना’ चौथोपटक हार व्यहोर्न बाध्य भइन्। उनको यो निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने सपना थियो तर दीपक सिंहसँगको पराजयका कारण डिनाको सपना पूरा हुन पाएन।

मकवानपुरमा पटक–पटक कम्युनिस्ट नेताहरूसँगै पराजय भोगेकी ‘डिना’ले योपटक सिंहसँग पराजित भइन्। गठबन्धनबाट उम्मेदवार बनेकी डिना राप्रपाका उम्मेदवार सिंहप्रतिको बढ्दो आकर्षण, गठबन्धनमा देखिएको समस्या र कांग्रेसभित्रैको गुटका कारण पराजय हुन पुगिन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.