|

पर्वत : कास्कीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा विजयी भएपछि विद्या भट्टराईले स्व. पति रवीन्द्र अधिकारीको सालिकमा पुगेर माल्यार्पण गरेकी छिन्।

आफ्ना निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गरेकी एमाले उम्मेदवार भट्टराईले पोखरा महानगरपालिका–१८ जामुनाबोटमा रहेको स्व.अधिकारीको पूर्ण कदको सालिकमा माल्यार्पण गरेकी हुन्।
भट्टराईसँगै निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताले विकास प्रेमी नेता स्व. रवीन्द्रको सालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धा सुमन अर्पण गरेका थिए। उनीहरूले स्व. अधिकारीले विकास, समृद्धि र नागरिकको सहज जीवनका लागि सोचका सपना पूरा गर्ने प्रयासमा आफूहरू रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको २०७६ सालको फागुनमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो। रवीन्द्रको स्थानमा उपनिर्वाचन हुँदा एमालेले रवीन्द्रकै पत्नी भट्टराईलाई टिकट दिएको थियो। उपनिर्वाचनमा जीत हासिल गरेकी भट्टराईले अहिलेको निर्वाचनमा पनि जित गर्दै दोस्रो पटक प्रतिनिधि सभाको यात्रा तय गरेकी छिन्।

उनीहरूले पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको अर्ध कदको सालिक, महेन्द्रपुलमा रहेको जनआन्दोलनका सहिद भीमसेन दाहालको सालिक, मुस्ताङचोकस्थित कम्युनिस्ट नेता चित्रबहादुर गुरुङको सालिक र राष्ट्रबैंकचोकमा रहेको सहिद झपिन्द्र कार्कीको सालिकमा पनि पुगेर माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.