|

काठमाडौं  : प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ। यो समाचार तयार पार्दासम्म  देशभरबाट  ११८ सिटको नतिजा आएको।

हालसम्म नेपाली कांग्रेसले ४१, नेकपा एमालेले ३१, नेकपा माओवादीले १२, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, अन्यले २० मा जित निकालेका छन्।

१९ जना उठाउँदा समाजवादीका १० जना विजयी

नेकपा एमालेसँग छुट्टिएको करिब एक वर्षमा समाजवादीले प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको हो।  निर्वाचनमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले १९ स्थानमा उम्मेदवार खडा गरेको थियो। जसमध्ये ९ जना पराजित बनेका छन् भने १० जनाले विजय हासिल गरेका छन्।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहट-१ बाट विजयी हासिल गरे। उनले ३३ हजार ५ सय २२ मत ल्याएर उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ ल्याएका थिए।

त्यस्तै, दाङ क्षेत्र नं. १  एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी दोस्रोपटक सांसद निर्वाचित भए।

नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले २६ हजार ५६३ मत प्राप्त गरे उनकी प्रतिस्पर्धी शान्ताले २१ हजार ४७९ मत पाइन्।

२०७४ को निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।  

त्यस्तै, धादिङ- १ मा राजेन्द्र पाण्डे विजयी भए। उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे। पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरे।

यस्तै,  बारा- ४ मा कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भए। पूर्वश्रममन्त्री श्रेष्ठ २९,५०५ मत ल्याएर निर्वाचित भए। उनले १० हजार ६६ मतभन्दा बढी ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँले १९,४३९ मत पाए।

यसअघि ०७४ को निर्वाचनमा तनहुँ १ मा रामचन्द्र पौडेललाई हराएका श्रेष्ठले योपटक बारा ४ बाट उम्मेदवारी दिएका हुन्। त्यतिबेला उनले ३४,४९२ मत ल्याएका थिए भने पौडेलले  २७,६९० मत पाएका थिए।

त्यस्तै,  अछाम-१ बाट शेरबहादुर कुँवर निर्वाचित भए। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो।  कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।

त्यस्तै, डोटीको प्रतिनिधिसभा सदस्यमा पार्टीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भए।  आलेले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराए। आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार चार मत ल्याइन्।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाए।

पूर्वमन्त्री ५१ वर्षीय आले डोटीबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। आले २०७० र २०७४ मा नेकपा एमालेबाट विजयी भएका थिए।

त्यस्तै, सल्यानबाट प्रकाश ज्वाला निर्वाचित भए। उनी ३५ हजार ७ सय मत पाएर निर्वाचित भएका हुन्। ज्वालाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह १५ हजार ९ सय ११ मतको अन्तरले पराजित भए। शाहले १९ हजार ७ सय ८९ मत पाएका छन्। यस क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन माओवादी केन्द्रका टेकबहादुर बस्नेतले जितेका थिए। कर्णाली प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका ज्वाला २०७४ मा सल्यानबाट प्रदेशसभा १ (२) बाट विजयी भएका थिए।

त्यस्तै, बझाङको प्रतिनिधिसभा सदस्यमा  भानुभक्त जोशी निर्वाचित भए। उनी नेकपा एमालेका ऐनबहादुर महरलाई ९९८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्। जोशीले २८ हजार एक सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत प्राप्त गरेका थिए।

यस्तै, डोल्पामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा ११ हजार २२५ भोट ल्याएर विजयी भए.  उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ भोट ल्याएका छन्। बुढा पूर्व पर्यटन राज्यमन्त्रीसमेत हुन्।

यसैगरी,  दैलेख-१ मा पार्टीका अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य निर्वाचित भएक।  थापा १८ हजार २५६ मत प्राप्त गरी विजयी भएका हुन्।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवीद्रराज शर्माले १७ हजार ४०७ मत प्राप्त गरे।

२०७४ सालमा प्रदेश सभा सदस्यमा विजयी भएका थापाले नेपाली कांग्रेसका जगजंग थापालाई पराजित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.