|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभामा शून्य भएको छ। सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँड हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो तर भाग पाएका सबै ठाउँमा माओवादीका उम्मेदवार पराजित भएका छन्। 

कैलाली क्षेत्र नम्बर २ र ३, कञ्चनपुरको क्षेत्र नम्बर १ र बैतडीमा माओवादीका उम्मेदवारले चुनाव लडेका थिए। चुनाव लडेका चारवटै ठाउँमा माओवादीका उम्मेदवारले पराजय व्यहोरेका छन्। 

कैलाली क्षेत्र नम्बर २ मा माओवादीका उम्मेदवार भगतबहादुर बडुवाललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। यस्तै कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी माओवादीका संविधानसभासदस्य समेत रहेका कृष्णकुमार चौधरीलाई पराजित गर्दै विजयी भएका छन्। 

कञ्चनपुर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित बनेकी छन्। यहाँ नेकपा (एमाले)का तारालामा तामाङ विजयी बनेका छन्। यस्तै बैतडीमा पनि माओवादीलाई हराउँदै एमालेले जितेको छ। बैतडीमा माओवादीका नरेन्द्र कुँवरलाई पराजित गर्दै एमालेका दामोदर भण्डारी विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.