|

 इलाम : इलाम क्षेत्र नं २ को मतगणना रोचक मोडमा पुगेको छ। मतगणनाको सुरुवाती चरणबाट माङ्सेबुङ गाउँपालिकाको गणनामा कहिले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ अगाडी हुन्थे त कहिले नेपाली कांग्रेसका सभापति डम्बर खड्का। २०५६ बाट संघीय निर्वाचन लड्दै आएका नेम्वाङको निर्णायक मत किरात धर्मगुरु आत्मानन्द लिङ्देन रहेको क्षेत्र माङ्सेबुङ हुने गर्थ्यो। यसअघिका निर्वाचनमा नेम्वाङ लारुम्बाबासीहरूकै मतका कारण निर्वाचनमा सहज जित हात पार्दै आएका थिए।

तर यस पटक माङ्सेबुङको गणनामा करिब १ सय मतले मात्र पछि परेका खड्का चुलाचुली गाउँपालिकाबाट आफ्नो अग्रता हुने विश्वासका साथ चुनावी मैदानमा थिए। नेपाली कांग्रेसले स्थानीय तहमा अध्यक्ष र ५ वटा वडामा स्पष्ट मतका साथ जितेको कारण पनि खड्का स्पष्ट अग्रताका लागि ढुक्क थिए।

तर सोचे अनुरुप मत नआउँदा नेम्वाङले अग्रता बढाउँदै लगे। इलाम–२ मा पर्ने माई नगरपालिकाको ३ वटा वडा गन्दा अग्रता १ हजार २ सय ५८ पुग्यो। १ हजार माथिको अग्रता बनाएपछि नेम्वाङको मत थपिने क्रम बढ्दै गएको छ। कांग्रेसले विरासत गुमाएको फाकफोकथुम गाउँपालिकाको मतगणना सम्पन्न हुँदा १ हजार ४ सय ८६ मतले नेम्वाङको अग्रता रह्यो। 
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा विजय हासिल गरेको देउमाई नगरपालिका आइपुग्दा नेम्वाङ आफू जित्नेमा विश्वस्त बने। देउमाईको ९ वटा वडा गणनामा नेम्वाङको अग्रता १ हजार ७ सय ३४ मतको अग्रता रहेको थियो। मत गणना इलाम नगरपालिका प्रवेश गरेपछि इलाम–२ को नेतृत्वका लागि निर्णायक बन्न सक्छ। इलाम नगरपालिकामा २० हजार ४ सय ६५ मत रहेको छ। 
दुवै जनाको गृह क्षेत्र भएकाले इलामबासीले आगामी ५ वर्षका लागि सांसद कसलाई चुन्ने भन्ने निर्क्यौल गर्नेछन्। गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र उपप्रमुखसहित ९ वटा वडा नेपाली कांग्रेसले जितेको कारण डम्बर इलामको नतिजा आफ्नो पक्षमा पर्नेमा ढुक्क छन्। 

इलाम नगरपालिकामा वडा नं ७ बाट मतगणना सुरु गरिएको थियो। दुवै जनाको गृह वडा भएको कारण नतिजा आफ्नो पक्षमा रहनेमा विश्वस्त थिए। तर वडा ७ को नतिजा डम्बर पक्षमा रह्यो। उनले ७६५ मत पाउँदा नेम्वाङले ६११ मात्र पाएका थिए। इलाम नगरपालिका–७ को गणनापछि मतान्तर घटेर १ हजार ६१० मा आइपुग्यो। वडा नं ८ को गणना सम्पन्न हुँदा अन्तर १ हजार २ सय ५३ मा आएको थियो।

वडा नं ९ को गणना सम्पन्न हुँदा अन्तर १ हजार ५३ मा आएको छ। अहिलेसम्मको अवस्था पूर्व सभामुख नेम्वाङले २४ हजार १ सय ६२ मत पाउँदा खड्काले २३ हजार १ सय ९ मत पाएका छन्। अहिले वडा नं ११ को मतगणना कार्य अघि बढेको छ। माईखोलाले छुट्याएको इलामको निर्वाचन क्षेत्र अन्तर्गत इलाम नगरपालिकाको १२ वटा वडा मध्ये वडा नं १० इलाम क्षेत्र नं १ मा पर्छ। गत स्थानीय तहको निर्वाचनमा वडा नं २, ३ र ११ नम्बर वडा नेकपा एमालेले जितेको थियो। अन्य वडामा फराकिलो मतान्तरका साथ नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।

२०५६ बाट निरन्तर सांसद रहेका नेम्वाङ भविष्य अब मतगणना भइरहेको वडा नं ११ सहित ८ वटा वडाले तय गर्नेछ। 
नेम्वाङ र खड्का मात्र हैन् प्रदेशसभाको लागि जिल्ला समन्वय समितिका निर्वतमान प्रमुख गणेश बराल र नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सभापति गोविन्द गिरीका लागि समेत इलाम नगरपालिका निर्णायक हो। दुवै जना देउमाई नगरपालिका बासिन्दा हुन्। तर स्थानीय तहको निर्वाचनमा जस्तै देउमाईको मत मत बरालको पक्षमा देखिएको थियो। देउमाईको गणना सम्पन्न हुँदा बराल १३५ मतले अग्रता कायम गरिरहेको थिए। तर इलाम नगरपालिकामा प्रवेश गरेपछि मत गिरीको पक्षमा देखिएको छ। वडा नं ७ र ८ को गणनाबाट गिरीले २८२ मतको अग्रता बनाएका छन्। गिरीको पक्षमा ८ हजार ९०५ मत रहँदा बरालले ८ हजार ६२३ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.