काठमाडौं : बाजुराको बुढीनन्दा–५ मा मतदान भइरहेको छ। शनिवार बिहान ७ बजेदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
निर्वाचन अधिकृत नवराज अवस्थीका अनुसार मंसिर ४ मा विवादका कारण स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान भइरहेको हो। यो केन्द्रमा ९९९ मतदाता छन्।
बाजुराका २४ मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बुढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो। एमालेले १६ र कांग्रेसले आठ मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन्। उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ।
आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने कुटपिट गरी एक जनाको हत्या गरिएको थियो। यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले पनि स्थलगत अध्ययन गर्ने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।