|

काठमाडौं : मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तेस्रो भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा उठेकी रेखाले आफू पराजित भए पनि राजनीति लामो समयको यात्रा रहेको र यसमा जित्नु र हार्नुले मात्र अर्थ नराख्ने बताएकी छिन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै उनले आफ्नो क्षेत्रबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्मालाई बधाइ दिएकी छिन्। शर्माको राम्रो काममा सधैँ साथ दिने र आवश्यक पर्दा खबरदारी पनि गर्ने कुरा पनि उनले उल्लेख गरेकी छिन्।

मतदातालाई धन्यवाद दिँदै उनले लेखेकी छन्, ‘मलाई सधैँ हौसला दिने हजारौँ नागरिकप्रति म सँधै कृतज्ञ रहिरहनेछु। निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु। उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वाभाविक होइन। तर निर्वाचित हुने एक जना मात्र हो।’ 

आफ्नो चाहना भनेको सांसद बन्ने मात्रै नरहेको जनाउँदै उनले लेखेकी छिन्, ‘सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो। मैले त्यो अवसरको लोभ नगरी प्रत्यक्ष उम्मेदवार बनेको थिएँ। यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ।’ 

निर्वाचनबाट पराजित हुँदैमा आफ्ना क्षेत्रका मानिसबाट टाढा नहुने, सुख–दु:ख बाँड्न सधैँ सँगै नै हुने कुरा रेखाले बताएकी छन्। साथै यसपटक मोरङ ३ का बासिन्दाको आवाज संंसदमा राख्ने अवसर नपाए पनि उनीहरूको बलियो आवाजको रूपमा रहिरहने पनि उनले जनाएकी छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.