|

पाल्पा :  यही मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भयो। यो निवार्चनमा पाल्पा क्षेत्र नम्बर २ मा निकै रोमाञ्चक बन्यो। सबैको चासो र ध्यान यही क्षेत्रका उम्मेदवारतर्फ केन्द्रित भयो। मतगणनास्थल वरिपरि मानिसहरूको दिनरात भिड नै लाग्यो। चौबिसै घण्टा सामाजिक सञ्जलमामार्फत मत परिणाम बुझिरहेको पाइन्थ्यो। 

किन कि, ३० वर्षसँगै राजनीति गरेका सहयात्री नै प्रतिस्पर्धी बनेका थिए। ४ पटक संसदमा निर्वाचित भइ पटकपटक मन्त्री बनेका सोमप्रसाद पाण्डे र कहिल्यै जनप्रतिनिधिको अनुभव नै नगरेका ठाकुरप्रसाद गैरेबीच चुनावी मैदानमा भिडन्त भइरहेको थियो। गैरे नेकपा एमालेका उम्मेदवार हुन्। पाण्डे गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन्।

मतगणना चलिरहँदासमेत यहाँका मतदाता र देश तथा विदेशमा रहेका आम पाल्पालीले निकै उत्सुकताका साथ मत परिणाम बारे जिज्ञासा राखिरहेको पाइन्थ्यो। राजनीतिमा कुटनीति जानेका पाण्डेलाई पराजित गर्न गैरेलाई मुस्किल पर्ने कतिपयको टिप्पणी थियो। कतिपयले युवा नेता गैरेको विकल्प नभएको चर्चा गरिरहेका हुन्थे।

मत गणनाकै क्रममा बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकामा गैरेले अग्रता लिए। अब उनको जित सुनिश्चित भएको कुरा हुन थाल्यो। बाँकी रहेका तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा गबन्धनका दलका प्रभाव बढी भएको आंकलन गरिएको थियो। जसले गर्दा ढुक्क भने थिएनन्। केही मत तलमाथि भइरह्यो। तर यी पालिकामा पनि उनले अनुमान गरेभन्दा बढी मत प्राप्त गरे। अन्ततः ३ हजार ९६६ मतले पाण्डेलाई पछि पार्दै गैरे विजयी भए। गैरेले २७ हजार ८१७ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, भाले १ हजार ५७०, क्रस खुकुरी ५०१, घर ५१६, छाता १०९, चेसबोर्ड ७, तिर २०४, तारा ११६, मादल ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरेका छन्।

अब मतदाताले राजनीतिमा युवालाई नै रोजेका छन् भन्ने यो निर्वाचनले सन्देश दिएको कतिपयको बुझाई छ। जनता सचेत भएको र कुनै दबाब वा प्रलोभनमा नपरी मत दिएर राम्रो व्यक्ति छनोट गर्ने अभ्यासको सुरु भएको युवा दीपक विश्वकर्माले बताए।

को हुन् ठाकुर गैरे?

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित बेलौतीखरक २०२५ साल जेठ ६ गते पिता शोभाखर गैरे र माता मोनिकर्णको कोखबाट जन्मेका गैरेका ४ दाजु भाई र ४ दिदी बहिनी छन्। ती मध्ये गैरे साहिँला हुन्। उनका श्रीमती १ छोरा १ छोरी छन्।

सामान्य परिवारमा जन्मिएका गैरेलाई अध्ययनको लागि पनि निकै समस्या झेल्नु परेको थियो। सानैदेखि आर्थिक अभावमा जिवन गुजारेका उनी पछिल्लो समयमसम्म पनि साधारण जिवनमा रमाउँदै आएका छन। अभावकाबीच राजनीति तथा सामाजिक कामलाई निरन्तरता दिएका छन्। उनको नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ।

गाउँमा रहेको बेद माध्यमिक विद्यालयमा कक्षा १० सम्मको अध्ययन गरे।  सानै उमेर देखि सामाजिक काममा अग्रसर रहेका उनी नेपाल स्काउट, नेपाल रेड्क्रस सोसाइटी, परोपकार संघ नेपाल, चारपाते युवा क्लब, गाउँले युवा क्लव लगायतका संघ संस्थामा आबद्ध भइ काम गरेका थिए।

माध्यमिक तहको पढाइ सँगसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित भए। समाजमा रहेका विकृति विसंगतिका विरुद्ध विभिन्न रचनात्मक क्रियाकलाप गर्न थाले।

आन्दोलनबाट अधिकार प्राप्त हुन्छ भन्ने बुझेका उनी राजनीतिमा जोडिने सोच बनाए। २०४७ सालमा तत्कालीन नेकपा मालेको संगठित सदस्यता लिए। त्यो बेलादेखि अहिले अर्थात् ३० वर्ष बढी निरन्तर राजनीतिमै सक्रिय रहेका उनले अन्य कुनै पेसा, व्यवसाय तथा जागिर पनि गरेनन्।

विद्यालयस्तरमा अध्ययन गर्दै गर्दा समाजमा जागरण सिर्जना गर्न भन्दै ५० रूपैयाँको तमसुक, शहीदकी आमा जस्ता घटनालाई समावेश गरेर नाटकमा अभिनय गर्ने र विभिन्न सांस्कृतिक अभियान पनि चलाए।

विद्यार्थी नेता हुँदै सांसद

गैरे उच्च शिक्षा अध्ययनका लागि तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा भर्ना भए। यहाँ पनि विद्यार्थी राजनीति थाले। २०४९ र २०५१ मा स्ववियुको सचिवमा निर्वाचित भए। २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी पाल्पाको अध्यक्षको जिम्मेवारी पाए।

२०५३ सालमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय कमिटीको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित भएर जिम्मेवारी वहन गरे।

विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी पार्टी संगठनमा जोडिए। २०६६ सालमा बुटवलमा सम्पन्न भएको नेकपा एमालेको आठौं महाधिवेशन र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा भारी मतका साथ विजयी भए। उनी हाल पार्टीको पोलिटब्युरो सदस्य हुन्। अहिले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

आन्दोलनमा सक्रियता

२०४६ को जनआन्दोलन, २०६२÷०६३ को पुँजीवादी राजनीतिक क्रान्तिको आन्दोलनमा गैरेको नेतृत्व महत्वपूर्ण रह्यो। सबैका लागि निःशुल्क र समान शिक्षा, गुणस्तरीय शिक्षाको पक्षमा अनेरास्ववियुको नेतृत्वमा भएको आन्दोलन र संयुक्त शैक्षिक आन्दोलनको नेतृत्वमा उनको भूमिका महत्वपूर्ण रह्यो।

विद्यार्थीलाई यातायातमा सहुलियत भाडादर कायम हुनुपर्ने, कालापानी मार्च, मातृभुमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेचीदेखि महाकालीसम्म भारतले गरेको सीमा अतिक्रमणका विरुद्धको अभियानमा आफूले नेतृत्व गरेको गैरेले बताए।

सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेप र स्थानीय जनतामाथि भएको आक्रमणमा घाइते भएकाहरूको रक्षा र त्यस विरुद्धको आन्दोलनमा गैरेले नेतृत्वदायी भूमिका निर्वाह गरे। शाह ज्यादा युवराज पारसले गायक प्रविण गुरुङको हत्या गरेपछि हत्यारालाई कारबाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी तत्कालीन राजा विरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व अनेरास्ववियुको सचिव रहँदा आफूले गरेको सुनाए। पेट्रोलियम पदार्थ, महंगी, भ्रष्टचार विरोधी आन्दोलनमा सक्रिय भएर लाग्दा देशैभरीका युवाको साथ पाएको उनले सम्झिए।

भारतीय नाकाबन्दी विरूद्ध देशव्यापी आन्दोलनको सृजना गर्ने, राष्ट्रिय स्वाधिनताको अभियान संचालन गरी सिंहदरबारदेखि संयुक्त राष्ट्र संघको कार्यालय पुल्चोकसम्म मानव साङलो प्रर्दशन गर्ने, एनसेल कर छली प्रकरण विरूद्धको आन्दोलनको नेतृत्व गरी कर बुझाउनुपर्ने परिस्थितिको निर्माण उनको महत्वपूर्ण भूमिका थियो।

निर्वाचित भएपछिका प्रतिवद्धता

मुलुकको नीति तथा कानुन प्रभावकारी बनाउन मुख्य भूमिका खेल्ने छु। राष्ट्रिय गौरवको आयोजनाबारे अध्ययन र पहलकदमी लिनेदेखि सुरु भइसकेका आयोजनालाई गति दिनेछु। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई पहिलो प्राथमिकता दिएर काम गर्ने सांसद गैरेले बताए। यस्तै यात्रालाई छिटो र सजिलो बनाउन बुटवल–पोखरा सडकखण्डको स्तरोन्नति गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नती, आवश्यक स्थानमा पुल निर्माणजस्ता विकासका कामलाई महत्व दिएर विकास निर्माणका काम गर्नेछु।

शैक्षिक इतिहास बोकेको पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्ने उनले बताए। सय पर्यटकीय गन्तव्यको रुपमा रहेका पाल्पाका रानीमहल लगायतका पर्यटकीय स्थलहरूको साथै जिल्ला स्तरका धार्मिक सांस्कृतिक तथा पुरातात्विक ऐतिहासिक स्थलहरूलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उनले बताए। यहाँका जनताको माग र आवश्यकताका आधारमा आफूले काम गर्ने गैरेले प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.