|

सुर्खेत : ६ महिनामा पूरा गर्ने भन्दै निर्माण शुरु गरिएका भेरी करिडोरभित्रका पुल अझै निर्माण हुन सकेका छैनन्। करिडोरभित्र जाजरकोट–डोल्पा सडक खण्डभित्र पुल निर्माण हुन नसकेका हुन्।

पुल नबनेका ती क्षेत्र अर्थमन्त्री जनार्दन शर्मा र पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रमा पर्छन्। त्यसैले सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदीमाथिको यो पुल चुनावी नारा बन्दै आएको छ। 

यो पुल निर्माणको भाका थपिएको म्याद समेत सकिन केही दिन बाँकी रहँदा पनि काम शुरु गरिएको छैन।

३ करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो। २०७८ पुस १६ गते पुल निर्माण सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन चौरजहारीले बताएको छ।

तोकिएको समयमा काम नगर्दा ६ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजनले जेभीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए।

कर्णले भने, ‘तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो। यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ। हाल त्यस ठाउँमा पक्की पुल नभएकाले ढुवानी अत्यधिक महँगो रहेको छ। हालसम्म यसको एकातिरको फाउन्डेसन र बीचको पिलरको काम भइरहेको छ। प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको हो।’

जाजरकोट नलगाड नपा–११ र रुकुम पश्चिम आठबीसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पा ठूलीभेरी नपा दुनैका जयकृष्ण हमालले बताए।

यो पुल नबनेकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्री महँगो हुँदै आएको छ। त्यस्तै नलगाड नगरपालिका–१० चौखामा रहेको ताक्सुगाडर वडा ८ को खमाउरे खोलामा पुल बनाउने भनिए पनि अहिलेसम्म पुल निर्माणको सुरसार नहुँदा वर्षेनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गर्दछन्। त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिकाको रूपगाड खोलामा ७ वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।

काठको लाप्सोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनु परेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए। सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रूपमा यसलाई लिन सकिन्छ। यी पुल नबन्दा डोल्पामा उत्पादन भएका स्याउ, जिम्बु र अन्य जडीबुटी ढुवानीमा समस्य थपिँदै आएको छ।

सुर्खेत, नेपालगञ्ज, काठमाडौँ लगायतका विभिन्न ठाउँबाट रुकुम पश्चिमको आठबीसकोटको माथिल्लो भाग, डोल्पा र जाजरकोटको माथिल्लो भागमा लाने र ल्याउने सामग्री पुलकै कारण बाधा पुग्दै आएको छ। झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकेजीको ४० रुपैयाँमा बोकाएर लाँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १२ मा रहेका खोलाहरूमा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेका छन्।

यसबाट सबैभन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्या हुँदै गएको छ।

जिल्लामा हुने सबै खाले निर्माणका सामग्री यही सडकबाट ढुवानी हुने भएकाले हरेक सामग्री महँगो र तोकिएको समयमा नपुग्ने गरेको छ। जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिका–११ तल्लुसम्म पिचका लागि ठेक्का भएर काम शुरु गरिए पनि त्यो काम सन्तोषजनक रूपमा अघि बढ्न नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।

पुल र सडकको स्तरोन्नति ढिला हुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि प्रयोग हुने पहुँच मार्ग निर्माण तथा पुल निर्माणमा समेत समस्या देखिएको छ। पुल र सडक निर्माण छिटो भएमा आयोजनको काममा सजिलो हुने आयोजनका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए।

उत्ता सडक डिभिजन चौरजहारीले भने निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै आएको छ। शक्तिकेन्द्र निकट व्यवसायीले ठेक्का लिएका कारण डिभिजन कार्यालय चौरजहारीले जतिसुकै ताकेता गरे पनि उनीहरूले मतलब नै नगरेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.