संखुवासभा निर्वाचन

|

संखुवासभा : संखुवासभामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क)मा सत्ता गठबन्धनले जितेको छ। नेकपा एमालेले प्रदेशसभा (ख) मात्रै जितेको छ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली काँग्रेसका दीपक खड्का र प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन्।

प्रतिनिधिसभाका उम्मेदवार खड्का ३२,१५८ मत ल्याएर ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६,७१९ मत ल्याएका छन्। खड्का ५,४३९ मतान्तरले विजयी भए। २०७० सालको निर्वाचनमा खड्काले एमालेका गौतमलाई र २०७४ मा गौतमले खड्कालाई हराएका थिए।

काँग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भिडन्त हो। खड्का काँग्रेस संखुवासभाका जिल्ला सभापति समेत हुन्। जिल्लामा प्रतिनिधिसभातर्फ ६५,३३७ मत खसेको थियो। त्यसमध्ये २,७५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभामा दुई स्वतन्त्र सहित १२ जनाको उम्मेदवारी परेको थियो।

प्रदेशसभा (क)मा माओवादी विजयी 
प्रदेशसभा (क)मा माओवादीका राजेन्द्र कार्की १३,४३३ मत ल्याएर निर्वाचित भएका छन्। कार्की ३४  मतान्तरले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भवीश्वर गुरुङले १३,३९९ मत पाएका छन्। कार्की माओवादीका केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्ज हुन्। पाँच गाउँपालिका र पाँच नगरपालिका रहेको प्रदेशसभा (क)मा ३१,५०४ मत खसेको थियो। प्रदेशसभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा काँग्रेसले जितेका थिए। २०७९ सहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेशसभा (क)मा जितेको छ।

प्रदेशसभा (ख)मा एमाले विजयी 
प्रदेशसभा (ख)मा सदस्यमा नेकपा एमालेका विदुरकुमार लिन्थेप निर्वाचित भएका छन्।

एमालेका लिन्थेप १५,४८२ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरिता खड्काले १५,२४२ मत ल्याइन्। एमालेका लिन्थेप २४० मतान्तरले विजयी भएका छन्।

विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान मेयर हुन्। गठबन्धनको साथ पाएकी थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेकी छन्।

प्रदेशसभा (ख)मा ३४ हजार मत खसेको थियो। प्रदेशसभा (२)मा एक स्वतन्त्र सहित ८ जनाले उम्मेदवारी दिएका थिए। प्रदेशसभा (ख)मा एमालेले २०६४, २०७४ र २०७९मा लगातार जितेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.