|

काठमाडौँ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग कमिशन खाने गरेको दाबी गरेका छन्।

शनिवार भक्तपुर आफ्नो निर्वाचन क्षेत्रमा निकालिएको धन्यवाद जुलुसमा सुवालले यस्तो बताएका हुन्।

उनले स्वदेशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए। उनले सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिशन खाने गरेको आरोप लगाए। यसले गर्दा देशमा मलखाद कारखाना खुल्न नसकेको उनको भनाइ थियो।

उनले भने, ‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग मल किन्ने र पैसा खाने गर्छन्। उनीहरूको काम नै त्यही हो।

उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने दाबी पनि गरेका छन्। उनले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसद्‌मा आवाज उठाउने बताएका छन्।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी सुवालले देशभरका मजदुर‚ किसान र काम गरी खाने जनता लाभान्वित हुने कानून बनाउन आफूले हरक्षण माग गरिरहने स्पष्ट पारे। उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न कानून बनाउन आवाज उठाउने पनि दाबी गरे।

उनले भने, ‘संसद् भनेको कानून बनाउने ठाउँ हो, राम्रो कानून बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ। स्वदेशमै छोराछोरीलाई काम दिनुपर्छ भनेर कानून बनायौँ भने सस्तो ज्यामीको रूपमा विभिन्न देश गइरहेका ७०-८० लाख हाम्रा युवा विदेश जानुपर्दैन। यस्तै आवाज हामीले संसद्‌मा उठाउने हो।’

नेता सुवाल भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३०‚७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। सुवालले ४२‚७१६ मत ल्याए भने प्रतिस्पर्धी गेलालले ११‚९६८ मत पाए।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (ख)मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को (क)बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.