|

जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज तिलकोत्सव सम्पन्न भयो।

शनिबार विवाहपञ्चमीको चौथो दिन राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न भएको हो।

त्रेता युगमा भगवान् रामसीताको शुभ विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको छ।

विवाहपञ्चमीभन्दा दुई दिनपूर्व हुने तिलकोत्सव साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण हुने गरेको छ। यो अवसरमा स्थानीय श्री राम युवा कमिटीले जन्तीको बन्दोबस्त गर्ने गरेको छ भने श्री महावीर युवा कमिटीले जानकी मन्दिरका तर्फबाट बेहुलीको पक्षमा रहने गरी सम्धी मिलान कार्यक्रममा सहभागी हुने गरेका छन्।

उक्त अवसरमा राम र राजदेवी मन्दिरको प्रांगणमा शनिवार बेलुका भक्तजनको भीड लागेको छ। भारत तथा नेपालका हजारौँ भक्तजनका अगाडि सम्धी मिलानमा जानकी मन्दिरका महन्थ जानकीका पिता र राम मन्दिरका महन्थ भगवान रामका पिताको रूपमा सहभागी थिए। तिलकोत्सवपूर्व जानकी मन्दिरबाट १०१ वटा पाहुर ९ भिष्ठार सहितको भार राममन्दिरमा पठाइएको छ।

पाहुरलाई लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव स्वयं राममन्दिर पुगेका थिए।

जानकी मन्दिरबाट भगवान् रामको तिलकोत्सवका लागि कोसेली स्वरूप ‘भार’ बाजागाजासहित योपटक जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव साधु सन्त, महन्त, योगी, संन्यासी, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधि सहित राम मन्दिर पुगेका थिए।

तिलकोत्सव कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जुली महतो, प्रदेशसभाका सदस्य दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरका प्रमुख मनोज साह र धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायत उपस्थित थिए।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि मटकोर विधि तथा मङ्सिर १२ गते स्वयंवर तथा राति जानकी मन्दिरको प्राङ्गणमा आकर्षक मण्डपमा शुभ विवाह तथा मङ्सिर १३ गते राम कलेवासहित विवाह पञ्चमीको समापन गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.