काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।
आइतबार बिहान साढे ११ बजेसम्म ८४ लाख ४ हजार ६९१ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २३ लाख १० हजार ३३३ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले २२ लाख १३ हजार ५ सय ७४ मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ६८ हजार २ सय५० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २६ हजार ९ सय २६ मत पाएको छ।
यसैगरी समानुपातिकतर्फ राप्रपाले ४ लाख ८७ हजार ५५२ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले २ लाख ८८ हजार ४९९ मत पाएको छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ। यो पार्टी थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ।
अहिलेसम्म यो पार्टीले २ दशमलव ६ प्रतिशत मात्रै मत पाएको छ। थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत प्राप्त गर्नै पर्छ। जनमत पार्टीले २ लाख २२ हजार ६९५ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले एक लाख ९९ हजार २३९ मत पाएको छ। लोसपाले एक लाख २० हजार ३८६ मत पाएको छ।
यसैगरी नेमकिपाले ६९ हजार ९९० मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४७ हजार ८६९ मत पाएको छ। जनमोर्चाको ४३ हजार ९१ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।