|

 काठमाडौं : काठमाडौं महानगरपालिकाको दशौँ कार्यपालिका बैठकले खुला मञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो। उक्त निर्णयसँगै सामाजिक सञ्जाल प्रयोक्ता तर्क वितर्कमा उत्रिएका छन्।  

एकातिर महानगरको निर्णयले काठमाडौं उपत्यकाको पार्किङको समस्या समाधान गर्ने बताइरहेका छन् भने अर्का थरीले खुलामञ्च ऐतिहासिक सम्पदा भएकाले खुला नै राख्नुपर्ने बताउँदै आएका छन्। खुलामञ्चमा पार्किङ बनाउन महानगरपालिकाले झाडी र फोहरले अस्तव्यस्त ठउँ सफा गरिरहेको छ। तीनतले भूमिगत निर्माण गर्नका लागि डिपीआर तयार गरी रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। 

कस्तो बनाउने भन्ने विस्तृत विवरण डीपीआर तयार भए पछि जानकारी हुन्छ। उनले भने, ‘अहिले चाहिँ फोहर र झाडीका कारण अस्तव्यस्त देखिएकाले सफा गरिएको छ। हाम्रो अन्तिम तयारी भनेको भूमिगत पार्किङ नै हो।’ महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले अहम् भूमिका खेल्ने मानन्धरको भनाइ थियो। 

बजेटमा व्यवस्था गरी सवारी पार्किङलाई व्यवस्थित गर्नका लागि उक्त योजना अगाडि बढाएको महानगरले जनाएको छ। बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मद्देनजर गर्दै खुलामञ्चसँगको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङ निर्माणका लागि पूर्वाधार अध्ययन गर्ने उल्लेख गरेको थियो।  सोही अनुसार ५ हजारभन्दा बढी सवारी अट्ने गरी भूमिगत पार्किङ निर्माण गर्ने तयारी रहेको छ।  

रोक्ने पक्षमा अभियन्ता 

काठमाडौँ महानगरपालिकाले खुलामञ्च मासेर पार्किङ निर्माण गर्नु गलत भएको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। काठमाडौंको मुटुमा रहेको खुला ठाउँ भनेको खुलामञ्च मात्र भएकाले त्यसलाई खुला नै रहन दिनुपर्ने उनको तर्क छ। खुलामञ्चलाई खुला राख्न धेरै संघर्ष गर्नुपरेको बताउँदै महानगर यो कदमबाट पछि हट्नुपर्ने उनको तर्क छ।

अकुपाई टुँडिखेल अभियानमार्फत सूचना जारी गर्दै महानगरले खुला मञ्चलाई खुला नै रहन दिनुपर्ने बताएका छन्। अकुपाई टुँडिखेलका सदस्यहरूले आजै वडा नं‌. १८ मा विज्ञप्ति समेच बुझाएका छन्।

खुलामञ्च खुला गर्ने विषयमा आफूले नवनिर्वाचित मेयर बालेन साहलाई जानकारी गराएको तर बजेटमा उक्त विषय समेटिएपछि यसो गर्न नहुने भन्दै आग्रह गरेको उनले खुलासा गरे। उनले भने, ‘भेटेर छलफल गर्ने भन्नुभएको थियो‚ पछि चासो दिनु भएन। अहिले त कार्यपालिका बैठकबाट पास भइसकेको रहेछ।’

पहिलो चरणमा छलफल गर्ने र सम्बोधन नभए संघर्षका रूपमा उत्रने अवस्था आएको उनले बताए। पार्किङका लागि पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावरलाई सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको भनाइ छ। 

खुलामञ्चको चौर नबिग्रने गरी संरचना निर्माण गर्ने तयारी छ। मानन्धरले भने, ‘चौरमा पानी रिचार्ज पोखरी निर्माण हुन्छ। खुलामञ्चमा आकाशबाट बगेको पानी बग्न नदिने योजना सहित हामीले काम शुरु गर्छौं।’

महानगरको मातहत पर्ने खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो। त्यसयता बन्द रहेको खुलामञ्चमा दशैंतिहार अवधिभर चारपाङ्ग्रे सवारी पार्किङ गर्न दिइएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.