|

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा ४७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ भने ८ निर्वाचन क्षेत्रबाट मत परिणाम आउन बाँकी छ।

पछिल्लो मत परिणामअनुसार प्रदेश १ मा अघिल्लो निर्वाचनबाट निर्वाचित भएर ५ वर्षे कार्यकाल बिताइसकेका १३ जना सांसद पुनः प्रदेशसभामा दोहोरिने देखिएको छ भने अन्य १५ सांसद भने चुनावी प्रतिस्पर्धाबाट ‘रिङ आउट’ भएका छन् ।

यी हुन् पुनः दोहोरिने

एमालेबाट ७ जना

एमालेबाट ७ जना सांसदले प्रदेश १ को प्रदेशसभामा पुनः ढोका खोलिसकेका छन्।

जसमा हिक्मतकुमार कार्की झापा ५ (क), एकराज कार्की झापा २ (क), रामबहादुर राना इलाम २ (ख), ​ इन्द्रमणि पराजुली धनकुटा (ख), लिलाबल्लभ अधिकारी मोरङ २ (ख), निरन राई धनकुटा (क) र बुद्धिकुमार राजभण्डारी सोलुखुम्बु (ख) रहेका छन्।

सत्ता गठबन्धनबाट

अघिल्लो निर्वाचनमा निर्वाचित भएर प्रदेशसभा सदस्यको ५ वर्षे कार्यकाल पूरा गरी मोरङ क्षेत्र नम्बर ६ (ख) का केदार कार्कीले पुनः दोस्रो पटक संसदीय यात्रा तय गरेका छन्। उनी प्रदेश सरकारका हालका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत हुन्।

नेपाली काँग्रेसबाट प्रदेश १ सांसदको जितको नजिक पुगेका हिमाल कार्की उदयपुर १ (ख) बाट मतगणनामा अग्रता कायम गरेका छन्। सडक पूर्वाधार तथा शहरी विकासमन्त्रीसमेत रहेका कार्कीले जित्ने निश्चित देखिएको छ।

पाँचथर प्रदेशसभा (ख) बाट निर्वाचित भएका माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बो पनि प्रदेशसभामा दोहोरिएका हुन्। हालको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका उनी अघिल्लो निर्वाचनमा पनि पाँचथर (ख) बाट नै निर्वाचित भएका थिए।

माओवादी केन्द्रबाट नै दोहोर्‍याउनेमा नारायणबहादुर बुर्जा मगर पनि हुन्। उनी उदयपुर २ (क) बाट निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादीबाट हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुर (क) बाट निर्वाचित भएका छन्। राई यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए।

 इलाम १ (क) बाट निर्वाचित हुने अन्तिम चरणमा रहेकी प्रदेश १ की पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू पनि प्रदेश संसदमा दोहोरिने अर्की नेतृ बन्नेछिन्।

पराजय बेहोर्ने वहालवालामन्त्रीदेखि उपसभामुखसम्म

अघिल्लो प्रदेशसभामा नेपाली काँग्रेसका संसदीय दलका नेतासमेत रहेको राजीव कोइराला मुख्यमन्त्रीको अपेक्षासहित चुनावी मैदानमा थिए।

उनी यसपटक भने अपेक्षाअनुसार जित हात पार्न सकेनन्। कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट पराजित भए।

पूर्वसामाजिक विकासमन्त्री एमालेका नेता जीवन घिमिरे काँग्रेसका पूर्वमेयर भीम पराजुलीसँग पराजित भए। उनी मुख्यमन्त्रीको अपेक्षासहित मोरङ ४ (ख) बाट चुनाव लडेका थिए।

हालका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव साविककै निर्वाचन क्षेत्र मोरङ ५ (ख) बाट पराजित बने। प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर झापा ४ (क) बाट पराजित भए।

अघिल्लो निर्वाचनमा समानुपातिक सांसद बनेकी निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (क) बाट पराजित बनिन्। ​ओखलढुंगा (क) बाट एमाले नेता अम्बिरबाबु गुरुङ पराजित बने।

एमालेबाटै सांसद बनेका उत्तमकुमार बस्नेत साविक निर्वाचन क्षेत्र सोलुखुम्बु (क) बाट पराजित बने। प्रदेश १ का हालका यातायात तथा सञ्चारमन्त्रीसमेत रहेका उपेन्द्रप्रसाद घिमिरे पनि पराजित बने। 

माओवादी केन्द्रका निवर्तमान सांसद कुशल लिम्बू मोरङ १ (क) बाट पुनः दोहोरिने चाहनासहित चुनावी प्रतिस्पर्धामा थिए तर उनको पुनः प्रदेशसभाका लागि संसदीय यात्रामा ब्रेक लाग्यो अर्थात उनी पनि पराजित भए।

अघिल्लो निर्वाचनमा  समानुपातिक सांसद बनेकी माओवादी नेतृ कुशुमकुमारी श्रेष्ठ  धनकुटा (ख) बाट पराजित भईन्।

एमाले नेता तेजमान कन्दङ्बा तेह्रथुम (ख) पराजित बने। माओवादी नेता पूर्णप्रसाद राजवंशी झापा ३ (ख) बाट र एमालेका सन्तकुमार बानिया पनि झापा ३ (क) बाट पराजित बने।

अघिल्लो संसदमा एमालेबाट समानुपातिक सांसद बनेकी बसन्तीदेवी यादव मोरङ ५ (ख) बाट पराजित बनिन्। अघिल्लो कार्यकालमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एकीकृत समाजवादीकी नेतृ सरिता थापा संखुवासभा (ख) बाट पराजित बनिन् ।

प्रदेशबाट संघमा जाने सांसद

प्रदेश १ मा यसअघि प्रतिनिधित्व एमाले नेता जगदिशप्रसाद कुसियैत प्रदेश १ को प्रदेशसभा सदस्यको ५ वर्षे कार्यकालको अनुभव समेट्दै संघीय सांसद बन्ने प्रतिस्पर्धामा छन्।

पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका कुसियैत काँग्रेसका संघीय संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग सुनसरी क्षेत्र ४ बाट प्रतिस्पर्धामा छन्।

शनिबार साँझ मतगणनामा धाँधली भएको भन्दै सो क्षेत्रको मतगणना अनिश्चितकालका लागि रोकिएको छ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका भीम आचार्य सुनसरी क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  भएका छन्। उनले काँग्रेसका सीताराम महतोलाई पराजित गर्दै पुनः संघीय संसदको यात्रा तय गरेका हुन्।

यता, प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई भने मआवोदी केन्द्रका सुदन किराँतीसँग पराजित भएका छन्। यो हारसँगै उनको संसदीय यात्रामा ५ वर्षका लागि ब्रेक लागेको छ।

माओवादी नेता एवम् प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत रहेका रामकुमार राई खोटाङबाट विजयी भएका छन्। एमालेका विशाल भट्टराईलाई पराजित बनाउँदै दोस्रो पटक प्रदेशबाट संघीय संसदको यात्रा तय गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.