काठमाडौं : नेपाली नागरिकता विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मिडियाहरू हात धोएर लागेको रविका कानुन व्यवसायीले आरोप लगाएका छन्।
नेपाल बार एसोसिएशनका पूर्वमहासचिवसमेत रहेका सुनिल पोखरेलले केही मिडिया नागरिकताको विषयमा हात धोएर रविको पछि लागेको आरोप लगाएका हुन्। उनले रविको नागरिकताबारे राष्ट्रवादीहरू अदालतसम्म पुग्न सक्ने बताए।
स्वतन्त्र पार्टीका सभापति एवं चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित लामिछानेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयमा उजुरी नै परिसकेको छ।
लामिछानेले नेपाली नागरिकता नत्यागेरै अमेरिकी नागरिकता लिएको र फेरि नेपाल फर्किएपछि नेपाली नागरिकता पुनःप्राप्तिको कानुनी प्रकृयासमेत पूरा नगरेको उल्लेख गरेर समाजवादी केन्द्र नेपालका युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन्।
सफलले गृहबाट लामिछानेको नागरिकता विवाद छिनोफानो नभए सर्वोच्च अदालत जाने बताएका छन्।
लामिछानेले पनि अदालतबाट हुने आदेशअनुसार आफू चल्ने बताएका छन्।
निर्वाचन आयोगले भने लामिछानेको नागरिकता विवादलाई तामेलीमा राखेको छ।
स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुुल ढकालले लामिछाने नेपाली नै नभएको जसरी प्रचार भइरहेको भन्दै गुनासो गरे।
नेपालको नागरिकता ऐन २०६३ मा विदेशको नागरिकता लिने नेपालीले नेपालको नागरिकता त्याग गरेको निस्सा लिनुपर्ने व्यवस्था छ।
लामिछानेले नागरिकता त्याग नगरेकाले निस्सा लिएका छैनन्। उनका वकिलले पनि निस्सा नलिएकाले पुनःप्राप्तिको प्रक्रियामा जानु नपर्ने दाबी गरेका छन्।
ऐनमा भने विदेशको नागरिकता त्यागेको निस्सा बुझाएपछि मात्र फेरि नेपालको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था छ।
प्रवक्ता ढकालले नागरिकताको विषयलाई लिएर राजनीतिक रुपमा कित्ताकाट गर्न खोजेको आरोप लगाए। ‘राजनीतिक रुपमा कित्ताकाट गर्न खोजे भने पनि केही फरक पर्दैन,’ उनले भने, ‘हामीसँग झन् धेरै जनता जोडिनुहुन्छ, झन् धेरै माया पाउँछौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।