|

काठमाडौँ : दोलखाका चार मतदान स्थलका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगले यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको हो।

जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ६ स्थित वैतेश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वडा नं. २ को जनज्योति मावि पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी ७ मतदान केन्द्रमा भएको मतदान स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेको आयोगले जनाएको छ। ती केन्द्रमा अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको ठहर गरेको छ।

यसैगरी वैतेश्वर गाउँपालिका वडा नं. ३ कालीढुङ्गा मावि मतदान केन्द्र ‘ख’मा मतदान सञ्चालन गर्ने क्रममा अत्यधिक भीडभाड भई अनियन्त्रित भीडलाई तितरबितर पार्ने क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फको १०० थान मतपत्रको अर्धकट्टी हराएकाले मतदान स्थलका तीनै केन्द्रका मतदान रद्द गरी पुनः मतदान गराउने निर्णय भएको हो।

ती क्षेत्रमा पुनः मतदानका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। साथै मंसिर ४ गते भएका मतदान रद्द गरी खसेका मत सुरक्षित राख्न पनि भनिएको छ।

ती १० मतदान मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरूका विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी उनीहरूमाथि आवश्यक कारबाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.