|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको  अन्तिम परिणाम सार्वजनिक नहुँदै नयाँ सरकार निर्माणको खेल सुरु भएको छ। १६५ वटा निर्वाचन क्षेत्र मध्ये १५८ स्थानको मतपरिणाम सार्वजनिक हुँदै गर्दा सरकार निर्माणले गति लिन थालेको हो। 

सरकार निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै आइरहेको नेपालको नजिकको छिमेकी राष्ट्र भारतले चासो देखाइसकेको छ।  नेपालको आन्तरिक मामिलाका विषयमा भारतले सबैभन्दा बढी चासो राख्दै आइरहेको छ। नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री देउवाबीच भेट भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए। भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेको सुवेदीको भनाइ छ। । प्रधानमन्त्री देउवाले सबै परिणाम आइसकेपछि मात्रै सरकार गठनका विषयमा छलफल हुने जवाफ दिएका छन्। 

परराष्ट्रविद् राजेश्वर आचार्य निर्वाचन नसकिँदै दुवै पक्षको भेटवार्तालाई अस्वाभाविक मान्छन्। सरकार निर्माण र देशको राजनीतिक स्थिरताका लागि जनताले मत दिएर पठाए पनि राजनीतिकर्मीहरुको व्यवहार अपरीपक्क भएको उनको तर्क छ। 

‘हाम्रा राजनीतिकर्मीहरुको बोली व्यवहार, भेटघाट, उदेक लाग्दो छ। राजनीतिमा लामो समय व्यातित गरेका पाका नेताहरुको पनि अपरिपक्क व्यवहार देखाएका छन्। यो नेपालको हितमा छैन्। चुनाव भर्खरै सकिएको छ। मतपरिणाम सार्वजनिक भइसकेको छैन्। नेपालको अहिलेको व्यवस्था अुनसार काम गर्नुपर्नेमा विदेशीसँग् अस्वभावित भेटघाट गर्ने, सरकार निर्माणका लागि चलखेल गर्ने परिपाटी सह्य खालको छैन्,’ उनले भने। 

परराष्ट्रविद् आचार्यले देशका प्रभुत्व वर्गको व्यवहार अनौठो किसिमको रहेको बताउँदै  नेपालको अहिलेको अवस्थामा  भाजपा प्रवक्ता आउने समय उपर्युक्त समय नरहेको बताए। 

 ‘राजनीतिकर्मी भेट्ने विदेशीहरुसँग पनि दया लाग्छ। चुनावको नतिजा आइपुगेको छैन। भेट्न खोज्न र भेट्न समय दिने पनि उस्तै लाग्छ। हामी कस्तो राजनीति गर्दैछौं? देशका प्रभुत्व वर्गको व्यवहार हेर्दा अनौठो खालेको छ। उहाँहरु नेतृत्व कसरी सम्हालेर आउनुभयो? यो समय यसरी प्रवक्ता आउने समय होइन। अझै दिल्लीबाट ‘हामी नियालीरहेका छौं’ भन्ने, काठमाडौंमा बसेको आधिकारिक प्रतिनिधिले भेट्ने र भेट्न दिने, किन यति हतार? लगन बित्न लागेको जस्तो गरेर दौडधुप गरिरहनुभएको छ,’ उनले भने। 

आचार्यले दल र विदेशीहरुले कूटनीतिक मर्यादाको ख्याल गर्नुपर्ने बताए।  ‘कूटनीतिक सिमाको लक्ष्मण रोखा होला। उमेरले परिपक्क भएका व्यक्ति व्यवहारमा कच्चा छन्। विदेशीको मात्रै होइन, यसमा कमजोरी हाम्रो पनि हो। परिपाटी बसाल्नुपर्छ। उत्तर (चीन)को भएपनि दक्षिण (भारत)को र पश्चिम (अमेरिका)को भएपनि अशोभनीय नै भन्छु,’ उनले भने। 

यसैबीच भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल आउने तयारी गरेका छन्।  

वाम गठबन्धन चीनको चाहना

उत्तरी सिमानामा फैलिएको छिमेकी राष्ट्र चीनले नेपालमा वाम गठबन्धन एक ठाउँमा भएको हेर्न चाहन्छ। २०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरेर खुसी भएको चीन नेपालका कम्युनिष्टहरु विभाजित भएसँगै पुनः एकजुट गराउने प्रयासमा जुटेको छ। तर, चीनको उक्त प्रयासमा नेपालका कम्युनिष्ट नेताहरु सकारात्मक देखिएका छैनन्।

चीनले सत्तारुढ गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउन चासो देखाएको हो। चीनको वाम एकता गराउने प्रयासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यक्ष रुपमा भूमिका खेलेको स्रोतको दाबी छ।  प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर नयाँ सरकार गठनका लागि आग्रह गरिसकेका छन्। 

२०७५ सालमा एमाले र माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विलय भएका थिए। तर, दलहरुबीचको आन्तरिक मनमुटावका कारण दल विभाजित भयो। दल विभाजन हुन नदिनका लागि चीनले गरेको भरमग्दुर प्रयास असफल भएको थियो। तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले ओली र दाहाललाई पटक–पटक भेटेर दल विभाजन हुन नदिन गरेको प्रयास असफल भएको थियो। 

गत मंसिर ४ गते निर्वाचन सकिएसँगै कुनैपनि दलले एकलौटी बहुमत ल्याउन नसक्ने अवस्था भएपछि चीनले वाम गठबन्धनमा जोड दिएको हो।  निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत पाइसकेका ओलीले प्रचण्डलाई फोन गरेर पुनः एकपटक मिलेर जाने प्रस्ताव राखेका थिए। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ओली प्रचण्डप्रति नरम रुपमा प्रस्तुत भएको बताए। 

ओलीले विगतको तिक्तता बिर्सेर नयाँ सिराबाट राजनीतिक कोर्ष अघि बढाउनुपर्ने प्रचण्डसामू राखेका थिए। तर, प्रचण्ड अझै ओलीसँग सशंकित रहेको बुझिएको छ। 

‘उहाँले ओलीका अघिल्ला कदमप्रति अझै शंका प्रकट गर्नुभएको छ। उहाँले चुनावको नतिजा आउञ्जेल कुर्न आग्रह गर्नुभयो,’ प्रचण्ड निकट एक नेताले भने। 

अध्यक्ष ओलीसँग अध्यक्ष प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सशंकित छन्। किनकी दुई पटक प्रतिनिधिसभा विघटन गरेका ओलीसँग मिल्न गए पुन धोका हुने दुवै नेताको बुझाइ छ। 

यता नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन भ्रमणमा जाने भएका छन्। स्रोतकाअनुसार उपमहासचिव पुनले चीनमा रहँदा चिनियाँ शीर्ष नेताहरुसँग भेट गर्नेछन्। नेता पुन अर्को साता चीन जाने तयारी गरेको स्रोतले जानकारी दियो। पुन निकट स्रोतकाअनुसार उनी नियमित स्वास्थ्य चेकजाँचका लागि चीन जाने र उपचारसँगै राजनीतिक भेटघाट हुनेछ।

‘चुनावी दौडधुपका कारण स्वास्थ्यमा समस्या देखिएको छ। उहाँ उपचारका लागि चीन जाँदै हुनुहुन्छ। उपचारपछि राजनीतिक भेटघाट हुन्छ । यो सामान्य हो,’ पुन निकट स्रोतले भन्यो। 

उनलाई जण्डिसको मात्रा (बिलुरुबिन) बढेको छ। स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने भए पनि पुनको शरीरमा उक्त मात्रा अत्याधिक छ। 

सरकार गठनको खेल सुरु भएको छ। पहिलोदेखि पनि पुनले कम्युनिष्ट पार्टीहरुलाई मिलाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेकाले अध्यक्षजीले उहाँ लाइ खटाउनुभएको छ,’ स्रोतले भन्यो।  

नेकपा (एमाले)का प्रचार विभाग प्रमुख विष्णु रिजालले आफ्नो पार्टी सरकार निर्माणका लागि विदेशी शक्तिहरुसँग नझुक्ने दाबी गरे। 

थाहा खबरसँगको कुराकानीमा रिजालले भने, ‘सत्ता गठबन्धनले १५ २० वर्ष सरकार चलाउँछौं भनेका छन्। तर, एमाले कसैको खुट्टामा उभिँदैनौं। हामीसँग चुनावी सहकार्य गरेका दलहरु संसदमा आफ्नो निर्णय गर्न स्वतन्त्र छन्।

हामीले निर्वाचनको परिणाम पाइसकेका छैनौं। समानुपातिकको पनि नतिजा पाउन बाँकी नै छ। उहाँ (सत्ता गठबन्धन) हरुको के नीति हुन्छ त्यसआधारमा निर्णय गर्ने पक्षमा छौं। नेकपा एमाले सरकार निर्माणका लागि कसैसँग हारगुहार गर्ने मनस्थितिमा छैन्। चाहे त्यो दक्षिण होस् या उत्तर।’

देउवा–प्रचण्ड भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ। भेटमा पाँच दलीय गठबन्धनलाई मुलुकमा बहुमतको नयाँ सरकार बनाउने सहमति भएको थियो। 

गत आइतबार प्रतिनिधिसभा र सात प्रदेश सभाको निर्वाचन भएको थियो। सोमबारबाट सुरु भएको मतगणनाको अन्तिम नतिजा नआउँदै दलहरुले बहुमत जुटाउन लबिइङ सुरु गरेका हुन्।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहले भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको र नयाँ सरकार गठनको सम्भावना खोजिएको जानकारी दिए ।

‘दुई नेताबीच अहिलेको सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ,’ उनले भने।  संसदमा पाँच दलीय गठबन्धनले बहुमतको सरकार बनाउन पर्याप्त शक्ति हुने शाहले बताए।

‘उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने र दुवै मधेसी दलको समर्थनमा सहज बहुमतले सरकार बनाउने हो,’ उनले भने। 

गठबन्धनमा प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली कांग्रेस, प्रचण्ड नेतृत्वको नेकपा माओवादी, माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र चित्रबहादुरको नेतृत्वमा रहेको राष्ट्रिय जनमोर्चा रहेका छन्।

पाँच दलको सत्तारुढ गठबन्धनले प्रत्यक्षमा हालसम्म ८५ सिट जितेको छ । जसमध्ये नेपाली कांग्रेसले ५३, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले चार र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ।

 यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले ४२ सिट जितेको छ। प्रत्यक्ष निर्वाचनमा एमाले गठबन्धनले जम्मा ५४ सिट जितेका छन् । जसमध्ये एमाले ४२, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टीले ७ सिट जितेको छ।

प्रतिनिधिसभाको सिटको नतिजापछि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले बहुमतिय सरकार गठनका लागि पर्याप्त सिट पाउने सम्भावना छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सरकार निर्माणका लागि निर्णय हुने देखिएको छ। प्रत्यक्षमा सात सिटमा विजयी भएको रास्वपा सरकार निर्माणमा निर्णायक भएको हो। दलहरुको स्पष्ट बहुमत नपुग्ने भएकाले रास्वपा सरकार निर्माणमा निर्णायक भूमिकामा छ। 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई जनताले दिएको झण्डै दुई तिहाई दलहरुको आन्तरिक खिचातानीका कारण गुम्न पुगेपछि अहिलेको निर्वाचनमा गठबन्धन गरेर मात्रै सरकार हुने देखिएको छ।

सरकार निर्माणका लागि २७५ मध्ये १३८ सिटको आवश्यकता पर्दछ। तर, एक दुई वटा दल मिलेर मात्रै बहुमत नआउने भएकाले दलहरुले आन्तरिक तयारी तिव्र पारेका हुन्।

अघिल्लो निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट जितेको थियो। तर, आइतबार अपराह्नसम्म कांग्रेसले १६५ मध्ये १५८ सिटको नतिजा आउँदा ५३ सिट जित्दै पहिलो दल बनेको छ। कांग्रेसले अझै तीन सिटमा अग्रता लिइरहेको छ। अघिल्लो निर्वाचनमा ८० सिट जितेर पहिलो दल बनेको नेकपा एमाले यसपटक ४२ सिट मात्रै जितेको छ। एमालेले दुई ठाउँमा अग्रता लिइरहेको छ।

थप एक स्थानमा विजयी भए एमालेले प्रत्यक्षमा ४३ सिट मात्रै जित्नेछ। अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ३६ सिट जितेको माओवादी केन्द्र यसपटक १७ सिटमा खुम्चिएको छ। 

प्रतिनिधिसभा निर्वाचनमा पाँच जना स्वतन्त्र सांसद निर्वाचित भएका छन्। बर्दिया २ बाट लालवीर चौधरी, मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरण साह र रौतहट ३ बाट प्रभु साह निर्वाचित भएका छन्। यी पाँच जना सांसद सरकारका निर्माणका लागि निर्णायक मानिन्छन्। उनीहरुलाई दलहरुले आफ्नो पक्षमा तान्न लबिइङ सुरु गरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.