मनाङका गुरुङले चुनाव जिते तर संसदको ढोका बन्द

|

काठमाडौं :  देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएको छ। अधिकांश स्थानको मतपरिणाम समेत सार्वजनिक भइसकेको अवस्था छ।

०६२/०६३ पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका ५ जना पूर्व श्रममन्त्री प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन्। 

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका सबै मन्त्रीका चुनावी एजेण्डामा फ्रि भिसा‚ फ्रि टिकटलाई प्राथमिकताका साथ उठाइएको थियो। मन्त्रालयको जिम्मेवारीमा रहेका वेला भएका कामको प्रचारप्रसार गर्दै उनीहरू निर्वाचनमा होमिएका थिए। पाँचै जनाले मन्त्रालयको जस आफूले लिँदै चुनावमा जीत पोल्टामा पारेका छन्।

२०७२ सालमा श्रम मन्त्रालयको जिम्मेवारी टेकबहादुर गुरुङले सम्हालेका थिए। सोही समय वैदेशिक रोजगारीमा जाने श्रमिकलाई फ्रि भिसा‚ फ्रि टिकटको अवधारणा ल्याएका थिए।

त्यसयता ४ जना (रमेश लेखक, गोकर्ण विष्ट, कृष्णकुमार श्रेष्ठ र शेरबहादुर कुँवर) ले श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले।

ती सबैका एउटै एजेण्डा र चर्चाको विषयको रुपमा वैदेशिक रोजगारीमा जाने कामदारलाई फ्रि भिसा‚ फ्रि टिकटमार्फत विदेश पठाउने। 

श्रम मन्त्रालय सम्हालेका सबैले वैदेशिक रोजगारी, फ्रि भिसा–फ्रि टिकट, रोजगारदाता देशसँग श्रम सम्झौता, नयाँ रोजगार गन्तव्य देश खोज्ने, विकसित देशको रोजगारी र रेमिटेन्सलाई चुनावी एजेन्डा बनाएका थिए।  

जस लिँदै सांसद बने मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र १ बाट सांसद निर्वाचित भए। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका श्रममन्त्री कुँवर एमालेका उम्मेदवार झपट बोहरालाई ४ हजार ४ सयभन्दा मतले पछि पार्दै सांसद बनेका हुन्।

कुवँरले १९ हजार ५३४ मत  प्राप्त गरेका छन् भने बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। योसँगै उनका लागि पहिलो पटक संसदको ढोका खुला भएको हो।

बारा–४ बाट जिते कृष्णकुमार श्रेष्ठले

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठ बारा– ४ बाट निर्वाचित भएका छन्।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबाल मियाँलाई हराउँदै संसदको बाटो तय गरेका छन्। श्रेष्ठले ३० हजार ३४१ मत ल्याउँदा मियाँले २० हजार २३६ मत प्राप्त गरे।

०७४ सालको निर्वाचनमा श्रेष्ठ तनहुँबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरी विजयी भएका थिए।

यो निर्वाचनमा श्रेष्ठ गठबन्धनका कारण पौडेललाई तनहुँ छाडेर नयाँ निर्वाचन क्षेत्रमा बाराबाट उठेका थिए। उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रममन्त्री बनेका थिए। सोही अवधिमा भएका काम देखाउँदै चुनावमा होमिएका थिए। 

त्यतिमात्र नभएर उमेदवार घोषणा भएसँगै चुनावी प्रचारप्रसारमा पुगेका श्रेष्ठले फ्रि भिसा‚ फ्रि टिकटमा युवालाई विदेश पठाउने भन्दै अन्तवार्तासमेत दिएका थिए। निर्वाचन आयोगले मतदातालाई प्रलोभनमा पारेको भन्दै उनलाई स्पष्टीकरण  सोधेको थियो। 

झाँक्रीलाई पछि पार्दै विष्टको संसद यात्रा

पूर्व श्रममन्त्री एवं एमाले सचिव गोकर्ण विष्ट गुल्मी– २ बाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २ हजारभन्दा बढी मतान्तरले हराएर विजयी भए।

विष्टले २८ हजार ४७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्। ०७४ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा उनी २१ महिना श्रममन्त्री भएका थिए। 

पूर्व श्रममन्त्री विष्टका पालामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार ऐन २०६४ संशोधन, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम ऐन २०७४ लागू र रोजगारदाता देशसँग श्रम सम्झौता जस्ता काम भएका थिए।

रमेश लेखक

पूर्व श्रममन्त्री रमेश लेखक सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री लेखकले ३० हजार ५२३ मत ल्याए।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निरुदेवी पालले १८ हजार ४८५ मत पाइन्। पूर्व श्रममन्त्री लेखकले २०६४ मा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले कतार र दक्षिण कोरियासँग पहिलोपटक श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए। 

जसले चुनाव जिते र तर संसदको ढोका बन्द

पूर्व श्रम राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका छन्।

उनी नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै तेस्रोपटक सांसद बनेका छन्। गुरुङले २ हजार ५७५ मत प्राप्त गरे भने पोल्देनले २ हजार २४७ ल्याए।

मनाङबाट निर्वाचित भएका गुरूङका लागि संसद छिर्न ढोका बन्द भएको छ। गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनको संसद यात्रामा ब्रेक लागेको हो।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नलागेसम्म निलम्बन गर्ने कानुनी व्यवस्था छ। 

उनीमाथि काठमाडौंको भृकुटीमण्डपस्थित फन पार्कको ६० रोपनी जमिन भाडामा लिँदा ३१ करोड भ्रष्टाचार गरेको आरोप लागेको छ। सोही मुद्दामा जेल परेका गुरुङ ५ लाख धरौटीमा रिहा भएका थिए।

उनी यसअघि ०७० सालको निर्वाचनमा पनि मनाङबाट विजयी भएका थिए। त्यसपछि ०७० फागुनदेखि पुस ०७२ सम्म उनी श्रम तथा रोजगार राज्यमन्त्री बनेका थिए। सोही समयमा फ्रि भिसा‚ फ्रि टिकट (१० हजारमा) वैदेशिक रोजगारीमा पठाउने निर्णय उनले गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.