|

काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीलाई नर्भिक अस्पतालको आइसियूमा पुगेर भेटेका छन्। उनीहरू सोमबार साँझ अस्पतालमा पुगेका थिए।

थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा भएको झडपमा घाइते भएर उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन मेयर बालेन र उपमेयर डंगोल नर्भिक पुगेका थिए। 

साँझ करिब पौने ८ बजेतिर नर्भिक पुगेका बालेनले त्यहाँ उपचार गराइरहेका नगरप्रहरीको अवस्थाबारे डाक्टरहरूसँग बुझेका थिए। उनलाई चिकित्सकले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट लागेको र उनीहरूलाई अब्जर्भेशनमा राखिएको जानकारी गराएका थिए। 

यसबीच काठमाडौं महानगरले ‘अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरूको नाम खुलाएर कानुनी कारवाहीका लागि प्रहरी परिसर टेकुलाई पत्राचार गरेको’ जनाएको छ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। 

उनले जारी गरेको विज्ञप्तिमा ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन्। नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसियूमा उपचार भइरहेको’ उल्लेख छ।

‘कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो। यस कार्यमा संलग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ‚’ प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वास गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.