चितवन : चितवन ३ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अधिकारी पुनः सेवामा फर्किएका हुन्।
उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए। ‘अब म नियमित काममा फर्किएको छु’, उनले भने, ‘स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने मेरो योजना छ।’ पराजित भए पनि निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको ‘जनतासँग अस्पताल’ कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।
गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना अधिकारीको छ। ‘विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु’, उनले भने। यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उनले बताए।
क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा रहने र पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।