|

सुर्खेत : मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैंक गाउँमा रेड पाण्डा भेटियो। स्थानीयवासीले प्रहरी चौकीलाई जिम्मा लगाएको रेड पाण्डा केही समयमै मर्‍यो।

प्रहरीले कुशे गाउँपालिकामा रहेको डिभिजनलाई बुझाउने तयारी गरेको रेड पाण्डा बाटोमै मरेको जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) सन्तोष निरौलाले जानकारी दिए। रेड पाण्डालाई सुरक्षित स्थानमा छाड्ने प्रयास असफल भएको उनले बताए। 

बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले महिनैपिच्छे रेड पाण्डा मर्ने क्रम बढेको जानकारी दिए। ‘बारेकोटका पाटन क्षेत्रमा आगलागीबाट सबैभन्दा धेरै रेड पाण्डा मारिएका छन्। लाटो जनावर भएकाले भाग्न नसक्दा मारिने गरेको छ’, उनले भने, ‘वर्षायाममा कुकुरले पनि शिकार गर्ने भएकाले रेडा पाण्डाको अस्तित्व संकटमा परेको छ।’

त्यस्तै पाटन क्षेत्रमा जडीबुुटी संकलकर्ताले समेत रेड पाण्डा मार्ने गरेका पाइएको छ। हिउँदयाममा शिकार गरिएको रेड पाण्डाको अवशेषहरु जंगलभरि भेटिने गरेको शाहीले बताए। जिल्ला प्रहरी कार्यालयले मात्र अघिल्लो आर्थिक वर्षमा पाँच वटा रेड पाण्डा मार्नेविरुद्ध मुद्दा चलाएको थियो। प्रहरीको जानकारीमा नआएका चोरी, पैठारीका धेरै घटना भए पनि गाउँघरमै मिल्ने गरेका छन्। 

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेड पाण्डा पाइन्छ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिंजा गाउँपालिकामा पनि रेड पाण्डा पाइन्छ। त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेड पाण्डा पाइने गरेको छ। 

गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार रेड पाण्डा संरक्षणका लागि पालिकाले विशेष महत्त्व दिएर काम गरिरहेको छ। डिभिजन वन कार्यालयको सहकार्यमा पालिकाले आफैँले पनि धेरै प्रचार र संरक्षणको काम गरेको अध्यक्ष शाहीले जानकारी दिए। 

डिभिजन वन कार्यालयका कर्मचारी फिल्डमा कम खटिने र सदरमुकाममै बसेर गाउँ गएको प्रतिवेदन तयार गर्ने गरेको आरोप लाग्दै आएको छ। कर्मचारीले घटना घटेपछि मात्र घटनास्थलमा गएर मुचुल्का बनाउने काम मात्र गर्ने स्थानीयवासी बताउँछन्। 

कुशेको दुईटा र बारेकोटको चारवटा सामुदायिक वन समूहसँग सहकार्य गरेर रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेड पाण्डा नेटवर्कका भूपलाल खत्रीले बताए।

दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन्।  रेड पाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक नहुनुले पनि समस्या भएको छ।  रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। 

लजालु स्वभावको वन्यजन्तु रेड पाण्डाको बासस्थान निगालोको जंगल  भएकाले त्यसको संरक्षण गर्नुपर्ने उनको भनाइ छ। वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधि रेड पाण्डाको संरक्षणमा चुनौती बनेको उनले बताए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान  छ। 

रेड पाण्डाको सहवास समय  र सन्तान जन्माउने समयमा  रेड पाण्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लग्न नदिने गरेमा यसको संरक्षण हुने जानकारको भनाइ छ। सामुदायिक वनहरूलाई रेड पाण्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराएमा प्रभावकारी हुने स्थानीय बताउँछन्। 

निगालोको टुसा र पात रेड पाण्डाको मुख्य आहारा हो। रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ भएको हो। दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारी भइरहेको  छ।

गाउँगाउँमा सचेतना नपुग्नु पनि रेड पाण्डा मारिनु मुख्य कारण हो। विभिन्न संघ , संस्थाले रेड पाण्डासम्बन्धी कार्यक्रम गरे पनि प्रभावकारी नभएको सरोकारवालाको भनाइ छ।

रेड पाण्डा पर्यटन प्रवर्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएको छ।  समुद्री सतहबाट झण्डै ३ हजार ६०० मिटर उचाइमा  बढी पाइन्छ। उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेड पाण्डाको आयु ८ देखि १० वर्षसम्म हुन्छ। पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म  गर्भाधान हुने महिना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.