|

इलाम : पूर्वी पहाडी नाका पशुपतिनगरमा निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराइने भएको छ।

आइतबारदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने भएको हो। आज पशुपतिनगरमा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, सुरक्षानिकायका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी लगायतको संयुक्त बैठकले सुविधा पास उपलब्ध गराउनेबारे निर्णय गरेको भन्सार अधिकृत प्रेम लामाले जानकारी दिए।

विश्वमा कोभिडको संक्रमणपछि लागेको लकडाउनयता भारतीय सवारीसाधनलाई यो सुविधा दिइएको थिएन। लामाका अनुसार सूर्योदय उद्योग वाणिज्य संघ र पर्यटनसँग सम्बन्धित संघसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए।

बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले उक्त सुविधा पाउनेछन्। यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन। नेपालतर्फ हेल्थ डेस्क व्यवस्था गर्न छलफलमा सहभागी सहमत भएका छन्।

सुविधा पाउने गाडीले दिनभर पशुपतिनगर बसपार्कसम्म आवतजावत गर्न पाउनेछन्। सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाघेर पशुपतिनगर  बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने विश्वास व्यक्त गरे।

‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, राईले भने, ‘पशुपतिनगरमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौं।’

नगरप्रमुख रणबहादुर राईले भारतको दार्जीलिङ, मिरिकतर्फ घुम्न जाने नेपाली पर्यटकलाई ट्राभल एजेन्सीले महँगो शुल्क लिएको गुनासो आएको बताए। उनले शुल्क व्यवस्थापन गर्न सुझाव दिए।

५० वर्षभन्दा पुरानो बजारमा भारतीय पर्यटकका कारण चलेकाले उनीहरूलाई सहज प्रवेश गर्न दिनुपर्ने पशुपतिनगर ट्याक्सी व्यवसायी संघका अध्यक्ष मिलन क्षेत्रीले बताए। उनले अन्तरराष्ट्रिय कानुनमा नजिकको रेलवेसम्म जान पाउने लेखिए पनि पशुपतिनगर आधिकारिक नाका नभएकाले सहज नभएको बताए। क्षेत्रीले अहिले पनि नेपालको गाडी छब्बिसे, मानेभञ्ज्याङसम्म जान समस्या नरहेको बताए।

व्यवसायी हिमाल मास्केले भारतीय पर्यटकलाई दिनभर पशुपतिनगर घुम्ने व्यवस्था नहुँदा व्यापार फस्टाउन नसकेको बताए। उनले १ घण्टा मात्र घुम्न पाउने व्यवस्थालाई परिमार्जन गर्न सुझाव दिए।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सुकियामा रहेको भारतीय भन्सार र अध्यागमन पशुपतिनगर नाका आए नेपालतर्फ समेत सहज हुने बताए। उनले भारतीय पर्यटकहरुलाई नेपाल प्रवेशमा सहज बनाउने मागतर्फ सकारात्मक भएको बताए। ढुङ्गानाले नेपाली गाडीलाई समेत भारततर्फ लान पहल भइरहेको बताए।

उनले भने, ‘एसएबीका डिजी साब आउनुभएको थियो, तपाईंहरूले चाहनुभयो भने घुमसम्म नेपाली गाडी जान सक्ने व्यवस्था मिलाउन सकिन्छ भन्नुभयो।’ ढुङ्गानाले ऐन अनुसारको सेवा सुविधा लिएर भारतीय पर्यटकलाई आकर्षित गर्न सुझाव दिए।

छलफलमा सूर्योदय नगरप्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, भन्सार प्रमुख प्रेम लामा, प्रहरी उपरीक्षक दिलीप घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटा, इलाका प्रहरी कार्यालय पशुपतिनगर प्रमुख बलराम गिरी, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट पशुपतिनगर प्रमुख इन्स्पेक्टर दिनेश आचार्य, उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राई, यातायात व्यवसायी मिलन क्षेत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायत सहभागी थिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.