|

तुलसीपुर : युथ्स अफ तुलसीपुरले बिहीबारदेखि लगाउने भनिएको महोत्सव हाललाई स्थगित भएको छ। तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले विरोध गरेपछि हाललाई महोत्सव नहुने भएको हो।

उद्योग वाणिज्य संघ र आयोजकबीच ४ बुँदे सहमतिमा महोत्सव हाललाई स्थगित गरिएको हो। यदि आयोजकले पुनः मेला महोत्सव सञ्चालन गर्न चाहेमा मेला महोत्सवमा राख्नुपर्ने व्यापारिक सरसामानको सूची उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले तोकेबमोजिम हुने र उक्त सूचीको विवरण ५ दिनभित्र वाणिज्य संघ र चेम्बर अफ कमर्शले पेश गर्नुपर्ने गरी वाणिज्य संघ र मेला आयोजकबीच सहमति भएको छ।

त्यस्तै आगामी दिनमा उद्योग वाणिज्य, व्यापार व्यवसायसँग सम्बन्धित मेला महोत्सव सञ्चालन गर्न उपमहानगरबाट कार्यविधि बनाएर लागू गर्नुपर्ने र कार्यविधि स्वीकृत गरेर लागू नभएसम्म कुनै पनि व्यक्ति, संघ संस्था आदिबाट कुनै पनि किसिमका व्यापारिक मेला महोत्सव सञ्चालन गर्न नपाउने सहमति भएको छ।

त्यस्तै कार्यविधि स्वीकृत नभएसम्म कुनै पनि किसिमका व्यापारिक मेला महोत्सव लगाउन आवश्यक देखिएमा वाणिज्य संघ र चेम्बर अफ कमर्श तथा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको सिफारिसमा उपमहानगरले अनुमति दिनुपर्ने सहमति भएको छ।

महोत्सव लगाउन नदिन तुलसीपुरका व्यवसायीले बुधबारदेखि विरोध गर्दै आएका थिए। विरोध स्वरूप तुलसीपुर बजार नै बन्द गराएका थिए। बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, व्यापारी लगायतले तुलसीपुर उपमहानगरमा तालाबन्दी समेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.