|

विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका नेता जगदीशप्रसाद कुसियैतको मतगणना अवधिभर निकै रोचक प्रतिस्पर्धा चलिरह्यो।

कम मतले प्रतिस्पर्धा भइरहँदा मतगणना अन्तिम अवधिसम्म आइपुग्दा झिनो मतान्तरले निर्वाचित हुँदै कार्कीले तेस्रोपटक संसदीय यात्रा तय गरे। 

संघीय सरकारका बहालवाला सञ्चारमन्त्री समेत रहेका कार्कीले ३०,४८३ मत ल्याउँदा तत्कालीन प्रदेश सरकारका पर्यटनमन्त्री कुसियैतले ३०,३७१ मत ल्याएका छन्।

२०७४ लाई फर्किएर हेर्ने हो भने एमालेलाई पराजित बनाएर जित निकालेका कार्कीलाई तत्कालीन समयमा जसपाले सघाएको थियो। अहिलेको निर्वाचनमा भने जसपाले एमलेलाई सघाएको छ।

भोजपुरबाट भूगोलको राजनीति गर्दै आएका ज्ञानेन्द्रबहादुर कार्की अन्तरपार्टी समन्वय गरेर सुनसरी झरेका थिए।

भोजपुरबाट २०७४ को प्रतिनिधिसभा निर्वाचन लड्न सुनसरी झरेका कार्कीलाई उकालोबाट ओरालो झर्दा राजनीतिक यात्रा फापेको काँग्रेसकै नेताहरू बताउँछन्। त्यसो त कुसियैत पनि राजनीतिमा कच्चा खेलाडी भने होइनन्। अहिले पराजित भएको क्षेत्रबाट धेरैपटक उनले जितको स्वाद चाखिसकेका छन्।

गिरिजाप्रसाद कोइरालाले चुनाव लडेर जितेको सुनसरी क्षेत्र नम्बर ४ मा कुसियैतले कोइरालालाई २०५१ को निर्वाचनमा टक्कर दिएका थिए तर त्यो निर्वाचनमा उनी कोइरालासँग पराजित भएका थिए। २०५३ को उपनिर्वाचनमा भने विजयी भएका थिए। कुसियतले कार्कीलाई मात्रै नभएर २०५१ सालको निर्वाचनमा कोइरालासँगको प्रतिस्पर्धामा निकै अप्ठ्यारो बनाएर कोइरालासँग पराजित बनेका किस्सा नेता कार्यकर्ता सुनाउँछन्।

भोजपुरले हरायो सुनसरीले जितायो

नेविसंघका सभापतिसमेत भइसकेका कार्की कांग्रेसभित्र चिनिएका पात्र भए पनि राष्ट्रिय राजनीतिमा भने त्यति चर्चित थिएनन्। यद्यपि २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा प्रजातान्त्रिक कांग्रेसको भागबाट शेरबहादुर देउवाले कार्कीलाई मन्त्री बनाएका थिए।

भोजपुरबाट २०५१ देखि निर्वाचन लड्न थालेका कार्कीलाई भोजपुरे जनताले उनलाई जिताएनन्। २०७४ को प्रतिनिधिसभा चुनावमा भने सुनसरी प्रवेशसँगै राजनीतिक यात्रा उनलाई फाप्यो। अर्थात् उनी निर्वाचित भए।

२०५१ को मध्यावधि निर्वाचनमा कार्की एमालेका हेमराज राईसँग पराजित भएका थिए।

त्यसपछि २०५६ सालको चुनावमा समेत कार्की भोजपुरबाट पराजित भए। दोस्रो संविधानसभाको २०७० को निर्वाचनमा भने समानुपातिक सूचीमा बसे कार्की। त्यही समानुपातिक सांसदको आधारमा २०७४ मा कार्की अर्थमन्त्री भएका थिए।

एमालेसँगको सेक्रेट फ्याक्टर

२०७४ को निर्वाचनमा कार्कीले निर्वाचन जित्नुमा जसपाको अहम् भूमिका रहनु एउटा पक्ष रहे पनि एमालेको साथ पाउनु ‘सेक्रेट’ फ्याक्टर भने शीतलनिवास भनेर अहिले पनि चर्चा गरिन्छ। कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक सम्बन्ध छ।

राष्ट्रपति भण्डारीकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपू हुन्। ज्ञानेन्द्र कार्की राष्ट्रपति विद्यादेवी भण्डारीका मामाका छोरा दाजु हुन्। पारिवारिक सम्बन्धले पनि २०७४ को निर्वाचनमा ज्ञानेन्द्रको चुनाव जितेको ‘सेक्रेट’ फ्याक्टर बनेको नेता कार्यकर्ता बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.