|

इलाम :  जब निर्वाचनको मिति नजिकिन्छ इलामबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरू चिया बगानमा मजदुर भेट्न पुग्छन्। भोट बैंकमा रूपमा रहेका सरकारी चिया बगानका मजदुरलाई मिठो सपना देखाउँछन् र जितेर गएपछि उनीहरूको मुद्दाको चासोसम्म राख्दैनन्। चिया मजदुर धेरै राजनीतिक परिर्वतनका  लागि निर्णायक बने तर कहिले पनि परिवर्तनको महसुस गर्न पाएनन्।

हरेक पटक चुनावमा नेताहरूले आश्वासन बाँडे। जितेर गएपछि आश्वासनमै सीमित रहयो। विगत २०४८ साल यता इलाम–१ बाट विजयी भएका संघीय र प्रदेशका  उम्मेदवारका लागि बगानका मजदुर भोट बैंक मात्र बने। तर भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनबाट इलाम–१ को ख का नवनिर्वाचित प्रदेश सांसद शम्शेर राईले निर्वाचित प्रमाण लिएको भोलिपल्टै चिया बगानमै गएर धन्यवादसहित आफ्ना प्रतिबद्धता दोहोर्‍याइरहँदा मजदुरको खुशी थामिसक्नु थिएन।

पत्ति टिपेर दिउँसो खाजा खाँदै गरेकी लिलामाया घले चिया बगानमा नै प्रदेशसभाका उम्मेदवार पुगेपछि खुशी हुँदै भनिन्, ‘कम्तीमा जानकारी दिएर आउनुभएको भए हामी पनि फुल माला लिएर तपाईलाई स्वागत गर्थ्यौँ नि। अब हाम्रो कुरा लगिदिनुहोस्, हामीलाई दुःख छ केहीमा छुट्टी पनि पाउँदैनौ। हाम्रो भोट लिएर देशको प्रधानमन्त्री समेत हुनुभयो तर हाम्रो बारेमा चासो समेत भएन। अहिले उम्मेदवारज्यू जितेर आउनुभयो एकदम खुशी लागेको छ।’

मजदुरहरूको गुनासो सधैँको भन्दा फरक छैन। २०५७ सालमा इलाम र झापाका ७ वटा बगान निजीकरण भएपछि श्रम ऐन अनुसारको ज्याला नपाएर धेरै मजदुरहरूले काम छाडे। सांघाई समूहले लिजमा लिँदा चिया कन्याम चिया बगानमा मात्र ८५८ मजदुर थिए।

निजीकरणपछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा कटौती गर्‍यो। अनि परिवार पाल्न नसक्ने भएकाले मजदुरले चिया बगान छोड्न बाध्य भए। राईले संसदमा सपथ लिएपछि किसानको मुद्दालाई क्याविनेटमा उठाउने आश्वासन दिएपछि मजदुर केही आशावादी रहे। राईले मजदुरहरूलाई आश्वासन दिँदै भने, ‘म तपाईँहरूसँगै छु। भर्खर मात्र सांसद भएको छु अब प्रदेश सभाको बैठक बसेपछि तपाईहरूको दुःखको बारेमा कुरा राख्छु। म पनि किसानको छोरो हुँ, तपाईहरूको दुःख मैले नजिकबाट हेरेको छु।’  राईको कुरा सुनेपछि थाकेर बसेका मजदुरको मुहारमा खुशी झल्किएको देखिन्थ्यो।

राईले बगानमा रहेको सबै मजदुरहरूलाई खादा लगाएर सम्मानसमेत गरे। मजदुर सम्मानपछि थाहाकर्मीसँग बोल्दै नवनिर्वाचित प्रदेश सांसद राईले ठूला ठूला कार्यक्रम गर्ने पुरानो परम्परा तोडेर गरिखाने वर्गको समस्या बुझ्न निस्किएको बताए।

उनले भने, ‘सपथ खाएपछि उहाँसँग आएर सानाभन्दा साना समस्या सुनेर तिनीहरूको हल खोज्नेछु। मेरो क्षेत्रका मतदाताले आधारभूत आवश्यकता पूरा गर्ने मेरो पहिलो जिम्मेवारी रहनेछ।’ कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदुरले सरकारले राजपत्रमा प्रकाशन गरेको ज्यालासमेत नपाएको गुनासो गर्ने गरेका छन्। 

राईले समस्या समाधानका लागि सबै प्रकारको सहयोग गर्ने बताए।

चियाको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गर्ने इलाम क्षेत्र न १ का नवनिर्वाचित सांसद महेश बस्नेतले बताएका छन्। उनले सञ्चारकर्मीहरूसँगको भेटमा मतदातालाई धन्यवाद दिँदै भनेका छन्, ‘म यहाँका सानाभन्दा साना समस्याको समाधान गर्नेछु। यहाँका जनताका प्राथमिकताका विषय मेरो प्राथमिकतामा रहनेछन्।’

झलनाथ खनाललाई पराजित गर्दै इलाम–१ बाट विजयी भएका बस्नेतले यसअघि इलाम नगर प्रमुख रहँदा सांघाई समूहबाट सरकारी चिया बगान लिज फिर्ता लिने अभियानको नेतृत्व गरेका थिए। उनकै नेतृत्वमा इलाममा माई नगरपालिका, इलाम नगरपालिका र सूर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिका एकमत भएका थिए।

वार्षिक रुपमा नेपालबाट ४ अर्ब बराबरको चिया निर्यात हुन्छ। नेपाली अर्थतन्त्रमा चिया क्षेत्रको योगदान उच्च रहेको छ। तर आर्थिक समृद्धिका लागि योगदान गर्ने मजदुरले आफूले पाउनुपर्ने ज्यालाका लागि समेत बर्सेनी आन्दोलन गर्नुपर्ने तितो यथार्थ साक्षी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.